बम विस्फोटनमा तीनको मृत्यु, सात घाइते

  • 27 फेब्रुअरी 2012
काठमाण्डूमा बम विस्फोट तस्वीर कपीराइट AFP Prakash Mathema
Image caption बम विस्फोट बारे छानबीन गर्न सरकारले गृहमन्त्रालयलाई निर्देशन दिएको छ

तीन जना सर्वसाधारणको ज्यान लिने गरी राजधानी काठमाण्डौंको एउटा अति व्यस्त र सुरक्षित मानिने ठाउँ बबरमहलमा गराइएको बम विस्फोटनपछि गृह मन्त्रालयले सुरक्षा व्यवस्थालाई कडा पार्न तीन वटै सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएको छ।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर गृहमन्त्री विजयकुमार गच्छदारले त्यस्तो निर्देशन दिएका हुन्।

नेपाल आयल निगमको मूल ढोका बाहिर सोमवार दिउंसो भएको बम विस्फोटनपछि गृह मन्त्रालयमा बसेको गृहमन्त्री सहित सुरक्षा अधिकारीहरुको बैठकले घटनाको छानबीन गर्न विशेष अनुसन्धान टोली गठन गरेको छ।

सुरक्षा चुनौती

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण ढोकाबाट करीब दुईसय मिटरको दूरीमा रहेको नेपाल आयल निगमको मूल ढोकामा बम विस्फोट भए लगत्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदार घटनास्थल पुगेका थिए ।

घटनास्थलको निरीक्षणपछि उनी घाइतेहरुलाई भेट्न सोझै वीर अस्पताल पुगेका थिए।

अस्पतालबाट बहिरिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै उनले घटनालाई सुरक्षा चुनौतीका रुपमा लिएको बताए।

“यो सेक्युरिटि थ्रेट हो,” गच्छदारले भने “यस घटनालाई राजनीतिक स्वार्थ बोकेका समूहहरुले जिम्मा लिएको मैले पाएको छु।”

कमै नाम सुनिएको संयुक्त जातीय मुक्ति मोर्चाको नाममा घटनाको जिम्मेवारी लिइएको एउटा आवाज सञ्चार माध्ययमा सुनाइएको थियो।

जिल्ला अदालत काठमाण्डौंसँगै जोडिएर रहेको आयल निगमको कार्यालयको गेटमा सोमबार दिउंसो सवा एक बजेको हाराहारीमा बम विस्फोट गराइएको थियो।

विस्फोट गराइएको स्थानमा २४ सै घण्टा सुरक्षाकर्मीले पहरा दिइरहेका हुन्छन्।

अदालत आउने सर्वसाधारण, कानुन व्यवसायी र त्यहीबाटो भएर ओहोर दोहेर गर्नेको दैनिक भीड हुने उक्त स्थानमा बम विष्फोट भए लगत्तै भागदौड मच्चिएको थियो ।

गृह मन्त्रालयले साँझ पत्रकार सम्मेलन गरी मृत्यु भएका तीन मध्ये एकजना धादिङ बैरेनीका कृष्ण तामाङको मात्र सनाखत हुन सकेको बताएको छ।

बांकी दुईको परिचय खुलिसकेको छैन।

वीर अस्पतालमा उपचार गराइरहेका सात घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

छानबीन

सरकारले घटनाको छानबीन गर्न डिआजी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरेको छ।

टोलीको प्रतिवेदनका आधारमा मृतकका परिवारलाई राहत दिने र घाइतेको नि:शुल्क उपचार गराइने गृह मन्त्रालयले बताएको छ ।

राजधानीको मुटुमै रहेको सिंहदरबार छेवैमा दिन दहाडै गराइएको बम विस्फोट र त्यसबाट भएको क्षतिले सुरक्षा व्यवस्थामा फेरि एकपल्ट गम्भीर प्रश्न उठेको सर्वसाधारणको गुनासो छ।