'बम विष्फोटबारे विशेष अनुसन्धान शुरु'

  • 28 फेब्रुअरी 2012
काठमाण्डौंमा सोमवार शक्तिशालि बम विष्फोट भएको थियो । तस्वीर कपीराइट AFP
Image caption बम विष्फोटपछि काठमाण्डौंको सुरक्षास्थिति कडा पारिएको छ

सिंहदरबार नजिकैको व्यस्त स्थानमा सोमबार गराइएको बम विस्फोटनका सम्बन्धमा छानबीन गर्न गठित विशेष अनुसन्धान टोलीले घटनामाथि गम्भीर छानबीन शुरु गरेको बताएको छ।

सरकारले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार लगायत केही सरकारी कार्यालयमा मंगलबारदेखि सुरक्षा उपस्थिति बढाएको छ।

गृह मन्त्रालयका केही उच्च अधिकारीहरुले बम विस्फोट गराउने समूहको पहिचान नजिक आफुहरु पुगेको बताएका छन्।

नाम उल्लेख गर्न नचाहने सरकारी अधिकारीहरुले विस्फोट गराउने व्यक्तिहरु केही दिनमै पक्राउ पर्न सक्ने संकेत गरे।

छानबीन

तीन जनाको ज्यान लिने गरी राजधानी काठमाण्डौंको एउटा अति व्यस्त र सुरक्षित मानिने ठाउँ बबरमहलस्थति नेपाल आयल निगमको प्रवेशद्वारमा सोमबार भएको बम विस्फोटपछि गठित विशेष टोलीले घटनाबारे गम्भीर अनुसन्धान शुरु भइसकेको बताएको छ।

“अनुसन्धान टोलीका सबै साथीहरुबीच बैठक गरेर गम्भीर छानबीन शुरु गरिसकेका छौं,” टोलीका संयोजक प्रहरी नायब महानिरीक्षक (डिआइजी) उपेन्द्रकान्त अर्यालले बीबीसीलाई भने।

टोलीले घटना गम्भीर प्रकृतिको भएको प्रारम्भिक निचोड निकालेको छ ।

घटनाका सम्बन्धमा अहिले नै विस्तृत जानकारी दिन नसकिने तर अनुसन्धान नतिजा सक्दो छिटो तयार गर्ने काममा आफुहरु जुटेको अर्यालले बताए।

वार्ता नहुने

सर्वसाधारणको बाक्लो चहलपहल हुने बबरमहलमा सोमबार आफ्नो समूहले बम विस्फोट गराएको दावी गर्ने कमै नाम सुनिएको संयुक्त जातिय मुक्ति मोर्चासँग शान्ति मन्त्रालयले गत साउनमा वार्ता गरेको थियो।

तर एकाएक हिंसामा उत्रिएको भन्दै मन्त्रालयले उक्त समूहसँग अब वार्ता नहुने स्पष्ट पारेको छ।

शान्ति मन्त्रालयका प्रवक्ता भरत पौडेलले भने, “बम पड्काउदै हिंडेपछि वार्ता गर्ने कुरा हुँदैन, उक्त समूहसँग तत्काल वार्ता गर्ने कुनै योजना छैन।”

चौबीसै घण्टा सुरक्षाकर्मीले पहरा दिईरहने स्थानमा बम विस्फोट भएपछि गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा पार्न तीनवटै सुरक्षा संयन्त्रहरुलाई सोमबारै निर्देशन दिएको थियो।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र बम विस्फोट गराइएको स्थानमा रहेका जिल्ला अदालत लगायत सरकारी कार्यालयहरुमा सरकारले सुरक्षाकर्मीको उपस्थिति बढाएको छ।