‘सबै प्रक्रिया पुरा गरेर संविधान ल्याउन असम्भव’

  • 2 मार्च 2012
संविधानसभा
Image caption संविधान र नियम अनुसार जनमत संकलन लगायतका काम भ्याउन मुश्किल पर्ने देखिन्छ

संविधानको पहिलो मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको संवैधानिक समितिको बैठक शुक्रबारदेखि दश दिनका लागि स्थगित गरिएपछि अब सबै प्रक्रिया पुरा गरेर नयाँ संविधान लेख्न नभ्याईने स्पष्ट भएको संविधानसभा सचिवालयका कानुनी सल्लाहकार टेकप्रसाद ढुंगानाले बताएका छन्।

प्रक्रिया पूरा नहुने

“अब अन्तरिम संविधानको धारा ७० र संविधानसभा नियमावलीमा उल्लेख भएका सबै प्रक्रिया पुरा गरेर जेठ १४ भित्र संविधान जारी गर्न सम्भव देखिंदैन,” ढुंगानाले बताए।

सर्वोच्च अदालतको फैसला अनुसार आउँदो जेठ १४ पछि संविधानसभाको म्याद थप्न मिल्दैन।

अन्तरिम संविधान अनुसार संविधान जारी गर्नु अघि जनताको घर दैलोमा पुगेर मस्यौदामाथि जनमत संकलन गर्ने लगायतका जटिल तर महत्वपूर्ण प्रक्रिया पुरा गर्नु पर्छ।

रात दिन काम गरेर त्यस्ता प्रक्रिया पुरा गर्ने तर्फ नलागी संवैधानिक समितिकै बैठक स्थगित हुन पुगेकाले प्रक्रिया थप लम्बिएको अधिकारीहरुको भनाइ छ।

प्रक्रिया पूरा नगरी संविधान ल्याउने हो भने अन्तरीम संविधानको धारा ७० र संविधानसभा नियमावली संशोधन गर्नुपर्ने ढुंगानाको भनाइ छ।

विवादित विषय

राज्यको संघीय ढाँचा, प्रत्यक्ष निर्वाचित राष्ट्रपति कि अहिलेकै जस्तो संसदीय पद्वति, प्रधानन्यायधीशको नियुक्ति कसरी गर्ने र संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्ने कि संसदले भन्ने जस्ता प्रमुख विषयहरुमा दलहरुबीच सहमति जुट्न बाँकी छ।

संविधानका विवादित विषयमा सहमति जुटाउन दलका नेताहरुलाई समय दिने उद्देश्यले बैठक स्थगित गरेको बताईएपनि यस्तै अवस्था रहे समयमा संविधान जारी हुन नसक्ने संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले बताए।

“यदि यही चाला, यही स्थिति, यही प्रवृत्ति र यही गति यथावत रहने हो भने विवाद समाधान गरेर जेठ १४ भित्र संविधान जारी हुन सक्दैन,” आचार्यले भने।

प्रमुख तीन दलका शीर्ष नेताहरुले केही दिन पहिले आपसमा काम बाँडफाँड गरेर विवादित विषयमा सहमति जुटाउने र आउँदो जेठ १४ भित्रै संविधान जारी गर्ने प्रतिबद्वता व्यक्त गरे पनि त्यस अनुसारको सहमति जुटाउन सकेका छैनन्।