माओवादीको प्रस्ताव काँग्रेसले मानेन

  • 8 मार्च 2012
प्रमुख तीन दलका शिर्ष नेताहरु
Image caption शान्ति प्रक्रियामा देखिएका विवाद मिलाउन तीन दलको वैठक बिहीबार पनि बस्न सकेन

समायोजनपछि माओवादी लडाकु रहने सेनाको प्रस्तावित नयाँ महानिर्देशनालयको उच्च तहमा माओवादीको प्रतिनिधित्व हुनुपर्ने विषयमा सहमत भइदिन एकीकृत माओवादीले गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले फेरि अस्वीकार गरेको छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई भेटी उक्त प्रस्तावमा लचकता अपनाउन आग्रह गरेका थिए ।

अस्वीकार

काँग्रेसले विगतको सात बुंदे सहमति भन्दा बाहिर गएर लचकता अपनाउन नसकिने जवाफ दिएको दुई नेताको भेटमा सहभागी काँग्रेस नेता रामशरण महतले बताए ।

प्रमुख तीन दलबीच बस्ने भनिएको बैठक स्थगित भएपनि माओवादी अध्यक्ष दाहालले नेपाली काँग्रेसका सभापति कोइरालाई छुट्टै भेटेका थिए ।

काँग्रेस सभापतिसँगको भेटमा दाहालले सेनाको प्रस्तावित महानिर्देशनालयमा माओवादीको उपल्लो तहमा प्रतिनिधित्व गराउने विषयमा लचक हुन आग्रह गरे।

तर काँग्रेसले दाहालको उक्त मागमा सहमत हुन नसकिने जवाफ दिएपछि अल्झिएको गाँठो फुक्नेमा कुनै ठोस सहमति हुन नसकेको नेता महतको भनाइ थियो।

महतले भने, “दाहालले महानिर्देशनालयको नीति निर्धारण तहमा माओवादीको प्रतिनिधित्व हुनुपर्ने मागमा लचिलो भइदिन आग्रह गरेपनि हामीले त्यसो गर्न नसकिने अडान कायमै राख्यौं।”

माओवादीले भने अनुसार गर्दा सेनामा राजनीतिक हस्तक्षप हुन सक्ने भएकाले उनीहरुको माग अस्वीकार गरिएको महतले उल्लेख गरे।

आशा

भेटपछि संवाददाताहरुसँग कुरा गर्दै दाहालले शान्ति, संविधान र सहमतीय सरकारको विषयमा प्याकेजमै सहमति हुन नसकेपनि सेना समायोजनको विषय टुङ्गिनु पर्छ भन्नेमा आफु सकारात्मक भएको वताएका थिए ।

भेटबारे दाहाल निकट मानिने एकजना माओवादी नेता हरिबोल गजुरेलले भने, “आजको बैठकमा ठोस सहमति नभएपनि केही समय यता सुस्ताएको शान्ति प्रक्रिया सकारात्मक ढंगले अघि बढ्ने आशा गर्न सकिन्छ।”

प्रमुख दलहरुबीच संविधान लेखनका विविध विषयमा मत भिन्नताहरु कायमै रहेपनि पछिल्लो समयमा प्रस्तावित सैनिक महानिर्देशनालयको सचिवालयमा माओवादीको उपस्थितिका सम्बन्धमा कुरा नमिल्दा शान्ति प्रक्रिया अघि बढ्न सकेको छैन।