माओवादी सेना समायोजन 'फागुनभित्र शुरु हुने'

  • 9 मार्च 2012

प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी ५ दिन भित्र शान्ति प्रकृयाको गाँठो फुकाइ समायोजनका बारे ठोस निर्णय लिइ अगाडि बढ्ने प्रतिबद्धता जनाएको सभामुख सुवास नेम्वाङले बताएका छन्।

तस्वीर कपीराइट AP
Image caption प्रधानमन्त्री बाबुराम भट्टराइले समयमै संविधान जारी हुने बताएका छन्

शान्ति प्रकृया र संविधान निर्माण प्रकृयामा ढिलाइ भइरहेको प्रति चौतर्फी चिन्ता बढिरहेको बेला त्यसबारे सरकारलाई सचेत गराउन सभामुख नेम्वाङ प्रधानमन्त्री निवास पुगेका थिए।

शुक्रबारको भेटमा सभामुख नेम्बाङले तीन दलको बैठक बस्न नसकेकोमा चिन्ता व्यक्त गर्दै प्रमुख दलका प्रमुख नेताहरु र प्रधानमन्त्री स्वयंले यस अघि जनाएको प्रतिबद्धताको सम्झाउदै घच्घच्याएका थिए।

जवाफमा प्रधानमन्त्रीले तीन दलको बैठक नबसेपनि तीनै दलका नेताहरु गृहकार्यमा व्यस्त रहेको जनाँउदै आश्वस्त पार्न खोजेका थिए।

शुक्रबारको भेटमा सभामुख नेम्बाङले तीन दलको बैठक बस्न नसकेकोमा चिन्ता व्यक्त गर्दै प्रमुख दलका प्रमुख नेताहरु र प्रधानमन्त्री स्वयंले यस अघि जनाएको प्रतिबद्धता सम्झाउदै घच्घच्याएका थिए।

सेना समायोजन

“सेना समायोजन बारेमा हामी फागुन मसान्तसम्म एउटा ठोस टुङगोमा पुग्छौं। विगतमा गरेको प्रतिबद्धता हामी पुरा गर्छौं भन्ने प्रधानमन्त्री भनाइ थियो,” सभामुख नेम्बाङले भने।।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले पनि प्रधानमन्त्री फागुन मसान्तसम्म भित्र सेना समायोजनमा रहेको गाँठो फुकाउन कटिबद्ध रहेको बताए।

तर त्यसको निम्ति अन्य दलको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

“अरु दलहरुलाई पनि कन्भिन्स गर्नु पर्ने कार्य थोरै जटिल भए पनि प्रधानमन्त्री तोकिएकै समय अवधि भित्र काम सम्पन्न गर्न कटिबद्ध हुनुहुन्छ,” पौडेलले भने।

माओवादी लडाकुहरुलाई समायोजन गर्दा दिइने दर्जाबारेको विवादले समग्र शान्ति र संविधान निर्माण प्रकृया अबरुद्ध छ।

दलहरुको पछिल्लो ढीलासुस्तीका कारण संविधान समयमा नबन्ने हो कि भन्ने आशंका बढ्न थालेको पाइन्छ।

आशा

सल्लाहकार पौडेलले दलहरुको काम गर्ने शैलीबाट जनतामा निराशा छाएको स्वीकारेता पनि अन्तिम समयमा सहमति जुट्नेमा उनी आशावादी देखिए।

“दलहरुको कार्य सम्पादन गर्ने शैली प्रति जनताको प्रश्न गर्ने ठाँउ छ। तर पनि हाम्रो अन्तिम समयमा टुङ्ग्याउने जुन परम्परा बनेको छ, यस पालि पनि हामीले अन्तिममा विवाद हल गरेर टुङ्ग्याउनेमा म आशावादी छु,” पौडेलले भने।

दलका नेताहरुले गरेको ढीलाइबारे अनेक खाले अड्कलबाजी भइरहेका छन्।

संघीयताको मुद्दा घांडो भएको र संविधान जारी हुने मिति नजिकिंदै जांदा समय अपुग देखाइ संघीयस्वरुप थाती राख्ने दाँउमा नेताहरु रहेको कतिपयले आरोप लगाएका छन्।