समायोजनमा अझै सहमति जुटेन

  • 16 मार्च 2012
माओवादी लडाकु
Image caption स्वैच्छिक अवकाश रोज्ने लडाकुहरुको विदाई भए पनि समायोजन प्रक्रिया अघि बढेको छैन।

प्रधानमन्त्री बाबुराम भट्टराईले लचिलो प्रस्ताव ल्याउने र लामो समय देखि अवरुद्ध सेना समायोजन प्रक्रियाका विषयमा सहमति हुने भनिएपनि प्रमुख दलहरु त्यस्तो सहमति गर्न शुक्रबार फेरि विफल भएका छन्।

प्रधानमन्त्रीले माओवादी कमाण्डरहरु सँग परामर्श गरेपछि संशोधन गरिएको भनिएको प्रस्तावमा शुक्रबारको वैठकमा एकसरो छलफल मात्र भएको नेताहरुले बताए।

आशा

आइतबार बस्ने अपेक्षा गरिएको अर्को बैठकपछि गाँठो फुक्न सक्ने उनीहरुको अपेक्षा छ।

प्रधानमन्त्रीले विशेष समितिको बैठकमा समायोजन प्रकृयालाई कसरी अघि बढाउने भन्ने बारे चार विषयगत अवधारणा अघि सारेको नेताहरुले बताए।

समायोजनमा जाने लडाकुको छनौट समिति, ब्रिजिङ कोर्ष, पदको निर्धारण कहिले हुने र प्रस्तावित महानिर्देशनालयको नेतृत्व सहायक रथीले गर्ने वा सो भन्दा तल्लो दर्जाकाले गर्ने भन्ने कुरामा छलफल सुरु भएको विशेष समितिका एक जना सदस्य जितेन्द्र नारायण देवले बताए।

आग्रह

उनले भने “दर्जाको बारेमा बैठकमा केहि ठोस कुरा नभए प्रधानमन्त्रीले कांग्रेस र एमालेलाई अलिकति लचिलो भइदिन आग्रह गर्नु भयो।”

नेताहरुले विशेष समितिमा समायोजनको अर्थपूर्ण छलफल शुरु भएको बताए।

बैठक अघि बीबीसी सँग कुरा गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले प्रधानमन्त्रीले विशेष समितिमा सहमति जुट्ने खालको प्रस्ताव लाने तयारी गरेको बताएका थिए।

पौडेलले भने, “केहि संसोधन सहित समस्या हल गर्ने हिसाबले प्रधानमन्त्रीले शुक्रबार प्रस्ताव पेस गर्नु हुंदै छ।”

प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लडाकुहरुलाई मनाउन बिहीबार र शुक्रबार छलफल गरेका थिए।

यस अघि माओवादीले सहायक रथीको पद दावी गर्दै आएको थियो।

तर केही दिन यता माओवादीले कुनै निश्चित पदको दावी नगरे पनि प्रस्तावित महानिर्देशनालयको सचिवालयमा लडाकुहरुको पनि प्रतिनिधित्व हुनु पर्ने माग गर्दै आएको छ।

दर्जाबारेको विवादमा बीचको बाटो ननिस्के पछि दलहरुले उक्त विवाद अहिलेलाइ थाती राखी समायोजन प्रक्रिया सुरु गर्ने मनस्थितिमा पुगेको हुन सक्ने कतिपयको बुझाइ छ