सरुवामा दबाब दिए कारवाही:प्रधानमन्त्री

  • 18 मार्च 2012
शान्ति प्रकृया बैठकमा प्रधानमन्त्री तस्वीर कपीराइट bbc
Image caption शान्ति-संविधानमा लाग्नु पर्ने प्रधानमन्त्री सरुवामा अराजकता देखिएपछि कडा निर्देशन दिन वाध्य भएका हुन्

कर्मचारी सरुवालाई लिएर मन्त्री, सचिव र अन्य कर्मचारी युनियनहरुबीचको विवादले अराजक रुप लिन थालेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले कडा निर्देशन दिएका छन्।

सबै मन्त्री र सचिवहरुलाई एकै ठाउँमा राखेर प्रधानमन्त्री बाबुराम भट्टराईले दुबैलाई एकअर्काको अधिकार क्षेत्र ननाघ्न निर्देशन दिएका हुन्।

उनले सरुवामा बढी नै चासो राख्ने कर्मचारी युनियनहरुको दबाबका अगाडी नझुक्न र दबाब दिनेमाथि कारवाही गर्ने चेतावनी पनि दिए।

चेतावनी

कर्मचारी सरुवाको विषयलाई लिएर केही दिन यता कतै मन्त्री र सचिवबीच त कतै राजनीतिक पार्टी निकट कर्मचारी संगठनहरुको दवाव र हमलाका खबरले चरम अराजकताको संकेत दिइरहेका थिए।

त्यसैले शान्ति र संविधान लेखनलाई टुंगोमा पुर्‍याउने जिम्मेवारी लिएका प्रधानमन्त्री भट्टराईले सबै मन्त्री र सचिवलाई एकै ठाउँमा डाकेर चेतावनी सहितको निर्देशन दिनु परेको थियो।

उनले दिएको सात बुँदे निर्देशन उद्धृत गर्दै उनका प्रेस सल्लाहकार रामरिझन यादवले भने, "कसैले दवाव दिए प्रधानमन्त्री कार्यालयलाई जानकारी दिनुस म कारवाही गर्छु भनेर प्रधानमन्त्रीले भन्नुभयो।"

कर्मचारी सरुवा गर्दा मन्त्रीहरूले सचिवको अधिकार क्षेत्रमा हस्तक्षेप गर्दा दुईपक्षबीच विवाद उत्पन्न भएका खबरहरु छरपष्ट भइरहेका थिए।

अधिकारक्षेत्र

प्रधानमन्त्री भट्टराईले सचिवको अधिकार क्षेत्रभित्र पर्ने सरुवामा दबाब नदिन मन्त्रीहरुलाई प्रष्ट रुपमा निर्देशन दिएका थिए।

त्यस्तो सरुवा मापदण्ड विपरित वा अन्यायपूर्ण भएमा सचिव पनि कारवाहीको भागी हुने उनले बताए।

सरुवालाई लिएर आफ्नो मन्त्रालयका सचिवसँगको चर्को विवादमा मुछिएका सिंचाई मन्त्री महेन्द्रप्रसाद यादवले प्रधानमन्त्रीको निर्देशनपछि अन्यौल अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

पछिल्लो जनआन्दोलनपछि सरुवा बढुवामा कमर्चारी संगठनहरुले निकै दबाब दिने गरेको कतिपयको अनुभव छ।

अस्वीकार

हालैका सरुवालाई लिएर कर्मचारी संगठनका नेताहरुले बाहुबल र धम्कीको प्रयोग गरेको पनि बताइएको थियो।

प्रधानमन्त्रीले त्यस्ता दबाबसामु घुडा नटेक्न सचिव र मन्त्रीलाई निर्देशन पनि दिएका थिए।

तर मापदण्ड बनाउँदा उनीहरुसँग छलफल र परामर्श गर्नु पर्ने उनको भनाइ थियो।