बैद्य पक्षको प्रतिकार गर्न प्रचण्डको निर्देशन

पछिल्लोपल्ट अपडेट गरिएको: 02.04.12, 20:54 NST सम्मका समाचार
माओवादी नेताहरु

माओवादी भित्र जारी आन्तरिक विवाद पछिल्लो समयमा थप गहिरिदै गएको छ

जनसंविधान जारी नभए नयाँ संविधानका लागि नयाँ आन्दोलन शुरु गर्ने बैद्य पक्षले सार्वजनिक गरेपछि प्रचण्डले कार्यकर्तालाई प्रशिक्षण दिंदै बैद्य समूहका गतिविधिको प्रतिकार गर्न निर्देशन दिएका छन्।

प्रचण्डले शान्ति र संविधान लेखन बिथोल्न बैद्य पक्ष लागि परेको आरोप समेत लगाए ।

असन्तुष्ट बैद्य पक्षले पार्टी नेतृत्व र सरकारप्रतिको आक्रोश सार्वजनिक ढंगले प्रकट गर्न थालेपछि पार्टी संस्थापन पक्षले पनि आन्तरिक प्रशिक्षण शुरु गरेको छ।

सोमबार काठमाण्डूमा आयोजित माओवादीको नेवा: राज्य समितिको प्रशिक्षणमा प्रधानमन्त्री बाबुराम भट्टराईका साथ प्रचण्ड सहभागी भएका थिए।

प्रतिकार

प्रचण्डले दिएको निर्देशनबारे जानकारी दिँदै नेवा: राज्य समितिका सचिव नारायण दाहालले भने, “उहाँहरुले विषय वस्तुलाई अराजक ढंगले लैजान खोज्नु भएको छ, त्यस्को राजनैतिक र वैचारिक ढंगले सशक्त प्रतिकार गर्न प्रचण्डले निर्देशन दिनुभयो ।”

आम जनताबीच शान्ति र संविधानका विषय लिएर जान कार्यकर्तालाई प्रशिक्षण दिएको जानकारी पनि दाहालले दिए ।

"उहाँहरुले विषय वस्तुलाई अराजक ढंगले लैजान खोज्नु भएको छ, त्यस्को राजनैतिक र वैचारिक ढंगले सशक्त प्रतिकार गर्न प्रचण्डले निर्देशन दिनुभयो "

नारायण दाहाल, प्रचण्ड पक्षीय माओवादी नेता

पार्टी फुटको प्रसंग उल्लेख गर्दै प्रचण्डले २-४ जना नेताले पार्टी छाड्दैमा फरक नपर्ने बताएको नेता दाहालले जनाए।

दाहालको भनाइ उद्धृत गर्दै उनले भने, “ मणि थापा, रविन्द्र श्रेष्ठ र मातृका यादव गए जस्तो अरु दुई चार जना पार्टी छोडेर गएमा खासै फरक पर्दैन ।”

उनका अनुसार प्रचण्डले बैद्य समूहको मूल नेतृत्व पार्टी फुटाइ हाल्ने पक्षमा नरहेको विश्लेषण सुनाउँदै पार्टी नफुट्ने विश्वास दिलाएका थिए।

तर उपाध्यक्ष बैद्यले प्रचण्डले प्रतिकार गर्न आदेश दिएको आफुहरुको अभियानले पार्टीलाई एकतावद्ध गराउने दावी गरेका छन्।

नयाँ आन्दोलन

आफूहरुले भने जस्तो संविधान लेखन लगायतका मागको पक्षमा अन्य साना दल र संगठनसँग मिलेर थालिएको हस्ताक्षर संकलन अभियानको उदघाटन् गर्दै उनले पार्टीभन्दा देश र जनता ठूलो भएको टिप्पणी गरे।

"पहिचानलाई आधार मानि संघीयता दिएनन् भने हामी चुप लागेर बस्दैनौं र त्यस्तो स्थितिमा हामी खोस्टो संविधान मान्दैनौं, नयाँ आन्दोलन शुरु गर्छौं"

मोहन बैद्य, उपाध्यक्ष, एकीकृत माओवादी

पार्टी तथा सरकार लक्षित चेतावनी दिँदै भने बैद्यले भने, “पहिचानलाई आधार मानि संघियता दिएनन् भने हामी चुप लागेर बस्दैनौं र त्यस्तो स्थितिमा हामी खोस्टो संविधान मान्दैनौं, नयाँ आन्दोलन शुरु गर्छौं ।”

महासचिव रामबहादुर थापाको चेतावनी पनि उस्तै थियो।

थापाले भने, “यदि जेठ १४ गते जनविरोधी संविधान घोषणा गरिन्छ भने र हामीलाई थप पराधीन गराइन्छ र झुक्काईन्छ भने हामी चुनौती दिन चाहन्छौं कि हामीलाई त्यस्तो राष्ट्रघाती संविधान स्वीकार्य हुने छैन ।”

संस्थापन पक्षले खासगरी बैद्यलाई पार्टी एकताको पक्षपाती र अन्यलाई एकता विरोधीको रुपमा चित्रित गरिरहेका बेला बैद्य र थापा सोमबारबाट आन्दोलनमा सार्वजनिक रुपमा उत्रिएका हुन्।

आफ्नो पक्षले पत्रकार सम्मेलन मार्फत आन्दोलन घोषणा गर्दा दुबै नेता भने अनुपस्थित थिए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।