बैशाख १५ मा संविधानको पहिलो मस्यौदा ल्याउने प्रतिबद्धता

  • 5 एप्रिल 2012
Image caption संविधानसभाको कार्य व्यवस्था परामर्श समितिले नेताहरुसँग संबिधान बनाउने प्रतिबद्धता मागेको छ

संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विहिबार राजनीतिक दलका शीर्ष नेताहरुले बैशाख १५ मा संविधानको पहिलो मस्यौदा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

समितिले दलहरुलाई बैशाख पाँचगतेसम्ममा आपसी असहमति मिलाउन, उसकै शब्दमा, अन्तिम समय दिएको छ।

तर चैत मसान्त सम्ममा शान्ति प्रक्रिया टुंगो लाग्ने गरी काम नभएमा पछिल्लो प्रतिबद्धता पनि व्यर्थ हुने प्रतिक्रिया प्रमुख विपक्षी नेपाली कांग्रेसले दिएको छ ।

संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा तीन प्रमुख दलहरु एकीकृत माओवादी, नेकपा एमाले र नेपाली कांग्रेसका संसदीय दलका नेता र मधेशी मोर्चाको तर्फबाट बिजय गच्छेदार निम्त्याइएका थिए।

नेताहरुलाई घर्किंदै गएको समयबारे झकझक्याउन बोलाइएको समितिका सदस्य तथा एमाले सचेतक भीम आचार्यले बताए।

आचार्यले भने, "यस अघि नेताहरुले धेरैपटक सहमति गरेर पुरा गरेनन् । अब समय धेरै छैन त्यसैले झक्झक्याउन नेताहरुलाई बोलाइएको हो।"

बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संचारकर्मीहरुसँग जेठ १४ मा संबिधान आउने प्रतिबद्धता दोहोर्‍याए।

प्रचण्डले भने, "चैत ३० भित्रै सेना समायोजन र संविधानमा नमिलेका विषय मिलाउने गरी वातावरण बनेको छ। जेठ १४ मै संविधान आउँछ।"

यस अघि पनि पटक पटक प्रतिबद्धता गरेर पुरा नगरेका दलहरुले यसपटक समयमै काम गर्लान् भन्नेमा नेताहरु नै विश्वस्त छैनन्।

बिहिबारको बैठकमा सहभागी नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बैशाख १५ मा मस्यौदा बन्ने नबन्ने भन्ने माओवादीको हातमा रहेको बीबीसीलाई बताए।

निर्धारित समयमै संबिधान जारी गर्न दलहरुलाई संसद, सभासद र सर्वसाधारणका तर्फबाट दवाव बढ्दै गएको छ।