विवाद मिलाउन नेताहरु गोप्य छलफलमा

  • 15 एप्रिल 2012
संविधान सभा
Image caption संविधानसभाका प्रमुख दलहरु राष्ट्रिय सरकार र अरु विवाद मिलाउन गोप्य छलफलमा गएका छन्

संविधानसभाका तीन ठूला दल एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र तराइ केन्द्रित दलहरुको मधेशी मोर्चाका नेताहरुले राष्ट्रिय सहमतिको सरकार र संविधानका विवादित मु्द्दाहरु एकसाथ मिलाउन उनीहरुकै शब्दमा ‘गोप्य’ छलफल शुरु गरेका छन्।

राजधानी काठमाडौंको दक्षिणी भेगमा रहेको एउटा होटेलमा आइतबार शुरु भएको बैठकमा संलग्न नेताहरुले सोमबार दिउसो सम्ममा सहमति खोज्ने प्रयत्न भइरहेको बताएका छन्।

संबिधान बनाउने समय घर्कँदै जाँदा संविधानसभाका तीन ठूला दल र मोर्चाका शीर्ष नेताहरु सहित प्रभावशाली नेताहरु आवासीय छलफलमा लागेका हुन्।

चाहना

सन्चारकर्मीहरुको पहुँच निषेध गरिएको सो छलफलको एजेन्डाबारे एमाले नेता भीम रावलले भने, "राष्ट्रिय सहमतिको सरकार र संविधान लेखनमा रहेका विवादित विषयहरुमाथि छलफल शुरु भएको छ। सकेसम्म भोली दिउसो सम्ममा सहमतिमा पुग्नेछौं सबैको चाहना यही छ।"

केही समय पहिले संविधानसभा कार्य व्यवस्था परामर्श समितिले नेताहरुलाई विवाद मिलाउन बैशाख ५ गतेसम्मको समय दिएको थियो।

त्यसै अनुरुप मंगलबारसम्म छलफल गरेर भएपनि सहमतिमा पुग्न प्रयत्न गर्ने बताइएको छ।

सहमतिको खोजी

छलफलमा चार राजनीतिक समूहका करीब ३० जना नेता संलग्न रहेको बताइएको छ।

नेताहरुले सहमतिमा पुग्नका लागि आइतबार र आवश्यक परे सोमबार पनि उक्त होटलमै रात बिताउने भएका छन्।

बैठकमा माओवादीमा संस्थापन पक्ष भन्दा बेग्लै धार राख्दै आएका मोहन बैद्य, रामबहादुर थापा, देव गुरुङ लगायतका नेता पनि सहभागी छन्।

आइतबार दिउंसो उक्त होटल पुगेका नेताहरुले शुरुमा करीब दुइ घन्टा संयुक्त छलफल गरेको प्रमुख नेताहरुका स्वकीय सचिवहरुले जनाएका छन्।

त्यसपछि माओवादी र एमालेको दुइपक्षीय छलफल भएको थियो।

अस्वीकार

औपचारिक, अनौपचारिक छलफल चलिरहे पनि कुराकानीको अन्तर्वस्तुबारे नेताहरुले जानकारी दिन भने अस्वीकार गरेका छन्।

गोप्य वार्ता गर्नकै लागि आफुहरु होटलमा आएको बताउँदै कांग्रेस नेता डा रामशरण महतले आफुहरुबीच एउटा सहमति नबनी कुनै कुरा नखोल्ने बीबीसीलाई बताए।

यसअघि आइतबार राजधानीमा भएको एउटा कार्यक्रममा कांग्रेस तथा एमालेका नेताहरुले बाबुराम भट्टराईको वर्तमान सरकारमा आफुहरु नजाने बताएका खबरहरु सार्वजनिक भएका थिए।