‘संविधान अघि राष्ट्रिय सरकार बनाउ’

  • 18 एप्रिल 2012
राष्ट्रपति रामवरण यादव
Image caption राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधान जारी गर्दा राम्रो सन्देश जाने प्रधानमन्त्रीलाई बताए

राष्ट्रपति रामबरण यादवले आफुलाई भेट्न आएका प्रधानमन्त्री बाबुराम भट्टराईलाई नयाँ संविधान जारी हुनु अगाबै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने तर्फ पहल गर्न बुधबार सुझाव दिएका छन् ।

नयाँ संविधान जारी गर्ने समय नजिकिदै गर्दा राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा केही चिसोपना बढेको भनेर टिप्पणी भइरहेका बेला भएको भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई त्यस्तो सुझाव दिएका हुन्।

प्रशंसा

आफुलाई भेट्न बुधवार बिहान शितल निवास पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रपति रामवरण यादबले पछिल्ला दिनमा शान्ति प्रक्रियामा भएको उपलब्धिप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री स्वयं र चार प्रमुख दलका नेताहरुको प्रशंसा गरेका थिए ।

राष्ट्रपति यादवले सबै दलहरुलाई सरकारमा सहभागी गराएर संविधान जारी गर्दा राम्रो सन्देश जाने भएकाले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गरेका थिए ।

राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिएको सुझावबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले भने, “संविधान जारी गर्नु अघि राष्ट्रिय सहमतिको सरकार गठन गर्दा राम्रो हुने राष्ट्रपतिको भनाइ थियो।”

टिप्पणी

एकीकृत माओवादीका लडाकु, हतियार र अस्थायी शिविरहरु नेपाली सेनाको जिम्मा लगाउने निर्णय गर्दा सरकारले राष्ट्रपतिलाई कुनै जानकारी नगराएको र त्यसबाट नेपाली सेनाका परमाधिपति समेत रहने राष्ट्र प्रमुख यादव केही असन्तुष्ट बनेको भन्ने टिप्पणीहरु आईरहेका बेला दुईजना बीच भेट भएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीका सहयोगीहरुका अनुसार माओवादी लडाकु र हतियार नेपाली सेनाको जिम्मा लगाउने निर्णयबारे चाहिं दुईजना बीच कुनै छलफल भएन।

राष्ट्रिय सहमतिको सरकार गठन गर्दा राम्रो हुने राष्ट्रपतिको सुझावप्रति प्रधानमन्त्रीको प्रतिक्रिया कस्तो रह्यो भन्ने प्रश्नमा प्रेस सल्लाहकार यादवले थपे, “प्रधानमन्त्रीले आफु पहिले देखिनै राष्ट्रिय सहमतिको सरकारका पक्षमा रहेको बताउनु भयो र अहिले पनि त्यसका लागि तयार रहेको बताउनुभयो ।”

भेटका क्रममा राष्ट्रपतिले शान्ति प्रक्रियामा सहमति कायम गरेजस्तै संविधानका विवादित विषयमा पनि यथाशिघ्र समाधान पहिल्याउन र जेठ १४ अघि नै संविधान जारी हुने वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

देश टुक्राउने खालको संविधानमा हस्ताक्षर नगर्ने अभिव्यक्ति हालै सार्वजनिक गरेर चर्चामा आएका राष्ट्रपतिले संविधान जारी गर्ने समय छोटिदै जाँदा राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा प्रधानमन्त्रीलाई बुधबार दिएको सुझावलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् ।