नेपाली कांग्रेस र नेकपा एमालेद्वारा राष्ट्रिय सहमतिको सरकार गठनको मा‌ग

  • 30 एप्रिल 2012
शीर्ष नेताहरुको वैठक
Image caption मंगलबारसम्म सहमतिको अन्तिम प्रयास जारी राख्ने नेताहरुले बताएका छन्

दुई ठूला प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले तत्काल राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नको निम्ति सत्तारुढ दलहरुमाथि दबाब बढाएका छन्।

सत्तारुढ दलहरु राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने विषयमा सहमत नभए गम्भीर राजनीतिक अवस्था सृजना हुने चेतावनी ती दलका नेताहरुले दिएका छन्।

यद्यपि तीन प्रमुख दलहरु र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सोमबारको बैठकले सहमतिका लागि मंगलबारसम्म पनि अन्तिम प्रयास जारी राख्ने निश्कर्ष निकालेको नेताहरुले बताए।

‘चर्को बहस’

प्रतिपक्षी दलहरुले सरकार ढाल्ने प्रस्ताव ल्याए आफुहरुले त्यसको पक्षमा मतदान गर्ने चेतावनी सत्तारुढ माओवादीको असन्तुष्ट मोहन वैद्य पक्षका एक नेताले बीबीसी नेपाली सेवालाई दिएको एक दिन पछि नेपाली कांग्रेस र नेकपा एमालेले तत्काल राष्ट्रिय सहमतिको सरकार गठनको माग चर्काएका हुन्।

त्यसबारे सोमबार साँझसम्म तीन ठूला दलहरु र मोर्चाको बैठकमा चर्को बहस भएको सहभागी नेताहरुले बताए।

नेकपा एमालेका नेता भीम रावलले भने, “अब राष्ट्रिय सहमतिको दिशामा यो सरकार जानै चाहंदैन भने एउटा गम्भीर राजनीतिक स्थिति सृजना हुन सक्छ। त्यस्तो अवस्थामा प्रधानमन्त्रीविरुद्ध सबै राजनीतिक दलहरु अगाडी बढ्ने स्थिति पनि आउन सक्छ।”

तर सहमतिको प्रयास मंगलबारसम्म पनि जारी राख्ने सहमति चार पक्षबीच भएको रावलले बताए।

“सहमतिको अन्तिम प्रयास गरौं, त्यसपछि के गर्ने भन्ने निश्कर्ष निकालौं भनेर हामी उठ्यौं।”

दबाब

सोमबारको चार पक्षिय बैठकमा कांग्रेस र एमालेका नेताहरुले स्पष्ट रुपमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी नदिएपनि हालैका सहमतिहरु अनुसारै राष्ट्रिय सहमतिको सरकार गठन गर्न दबाब बढाएको बुझिएको छ।

बैठकपछि नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले मंगलबारसम्म सहमति नजुटे आफुहरु अर्को रणनीति बनाउन वाध्य हुने बताए।

“सहमतिको सरकार गठन गर्ने प्रतिबद्धता अनुसार पटक्कै काम भएको छैन अब फेरि पनि सहमति बनेन भने हामी अर्को रणनीति बनाउछौं।”

प्रतिपक्षी दलहरुले राष्ट्रिय सहमतिय सरकार गठनको माग चर्काएपनि सोमबारै सत्तारुढ एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले एउटा बैठकपछि संविधान निर्माण प्रक्रिया निश्कर्षमा पुगेपछि मात्र राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सकिने निश्कर्ष निकालेका थिए।

उनीहरुले संविधान निर्माणको काम सिध्याउने बेलामा ल्याइएको सरकार परिवर्तनको प्रस्तावले जेठ १४ गते भित्र संविधान निर्माण गर्ने काम गम्भीर रुपमा प्रभावित हुन सक्ने बताएका छन्।