ओलिम्पिक्स ज्योति प्रज्वलित

  • 11 मे 2012
ग्रीसमा ओलिम्पिक्स ज्योतिका लागि आगो सल्काइंदै तस्वीर कपीराइट Reuters
Image caption एकजना अभिनेत्रीले परम्परागत पुरोहितनीको भूमिकामा सूर्यको किरणबाट आगो सल्काएकी थिइन्।

लण्डन ओलिम्पिक्सको अवधिभर बालिने ज्योति, विहीबार एउटा विशेष समारोहका माझ ग्रीसको ओलिम्पीया शहरमा प्रज्वलित गरिएको छ।

परम्परागत उच्च पुरोहीतनीको भुमीकामा रहेकी एकजना अभिनेत्रीले सूर्यको किरणबाट आगो सल्काएकी थिइन्।

र त्यो आगोको झील्कोबाट ओलिम्पिक मशाल, टर्च, प्रज्वलित गरिएको थियो। ज्योति प्रज्वलन गरीने उक्त समारोह ग्रीसको प्राचिन ओलिम्पिक खेलकुद रंगशाला नजीकै हेरा देवीको मन्दीरको भग्नावशेषहरुमा आयोजना गरिएको थियो।

ब्रिटेन

उक्त ज्योतिलाई मे १८ तारिखका दिन हवाईमार्गबाट ब्रिटेन लगिने छ र त्यसपछि सत्तरी दिन लामो रिले दौडको माध्यमबाट उक्त ज्योतिलाई ब्रिटेनभरी घुमाइने छ।

र त्यसक्रममा ओलिम्पिक ज्योतिको मशाल, टर्च, लाई आठहजार जनाले पालैपालो बोकेर दौडने छन्।

समारोहमा उपस्थित बीबीसी सम्बाददाताका अनुसार यसपाली ओलिम्पिक ज्योती एकैछिन निभेको थियो तर त्यसबाहेक राजनीतिक उथलपुथल भोगी रहेको ग्रीसमा बांकी समारोह निर्विघ्न सम्पन्न भएको थियो।

प्रचलन

ओलिम्पिक ज्योति बालिने प्रचलन सन् १९२८ मा नेदरल्याण्ड्सको एम्स्टरडममा आयोजीत ओलिम्पिक्स देखि चलेको हो। र सन् १९३६ मा बर्लिन ओलिम्पिक्स देखि मात्र ग्रीस देखि खेल आयोजक राष्ट्रसम्म ओलिम्पिक ज्योतिको रिले आयोजना गर्न थालिएको हो।

ग्रीसको ओलिम्पियामा सूर्यको किरणबाट बालिएको ज्योतिलाई धावकहरुले बल्गेरिया, युगोस्लाभिया, हंगेरी, अष्ट्रिया र चेकोस्लोभाकिया हुंदै बर्लिन रंगशालामा पुर्याएका थिए।

तस्वीर कपीराइट Getty
Image caption ओलिम्पिक ज्योतिलाई मे १८ तारिखमा लण्डन लग्नु अघि ग्रीसकै विभिन्न शहरहरुमा पनि घुमाइने छ

सन् १९५० को दशकसम्म ओलिम्पिक ज्योति पुरुषहरुले मात्र बोक्ने गर्दथे।

‌टर्च र्याली

टर्च र्यालीका बेला ज्योति निभ्ने पनि गर्दछ, त्यस्तो बेला के हुन्छ त?

चलन अनुसार, टर्च र्यालीका बेला ओलिम्पियामा सूर्यको किरणबाट प्रज्वलित गरिएको आगोलाई पनि विशेष व्यवस्थाका साथ संगै लगिने गरिन्छ र निभेको ज्योतिलाई त्यही आगोबाट फेरि सल्काउने गरिन्छ।

त्यसै गरी औपचारिक रुपमा ओलिम्पियामा अभिनेत्रीहरुले सूर्यको किरणबाट आगो सल्काउने समारोह गर्दा बादल लाग्यो वा मौसम प्रतिकूल भएको अवस्थाका लागि पनि बैकल्पीक व्यवस्था गरिन्छ।

त्यस्तो अवस्थालाई ध्यानमा राखि, टेलिभिजन क्यामराका अगाडी गरिने समारोहको केहि दिन अघि नै अभ्यास गरिन्छ र त्यसबेला सल्काइने आगोलाई विभिन्न उपायले सूरक्षित राखिएको हुन्छ।