मुस्ताङमा दुर्घटनापछि उड्डयन सुरक्षाबारे थप चिन्ता

  • 14 मे 2012
दुर्घटनामा बच्न सफल यात्रुको उद्धार तस्वीर कपीराइट AP
Image caption सोमबार बिहान भएको दुर्घटनामा बांच्न सफलहरुलाई उपचारको लागि पोखरा ल्याइयो

पोखराबाट जोमसोमका लागि उडेको अग्नि एअरको विमान जोमसोम नजिकैको पहाडमा ठोक्किंदा विमानमा सवार १५ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

दुर्घटनामा बांच्न सफल ६ जनाको पोखरामा उपचार भइरहेको छ।

सोमबारको हवाइ दुर्घटना नेपालमा गत १२ वर्षमा भएको २९ औं दुर्घटना भएको बताइएको छ।

'अवतरणको तयारी'

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार जोमसोममा अवतरणको तयारीमा रहेको अग्नि एअरको डर्नियर विमान सोमबार बिहान दश बज्न दश मिनेट बाँकी हुँदा जोमसोम विमानस्थल नजिकैको पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।

त्यसमा परी १३ जना भारतीय यात्री र दुई जना नेपाली चालकहरुको मृत्यु भयो।

दुर्घटनाको कारण थाहा भइसकेको छैन, तर अवतरणको तयारीमा रहेको विमानलाई चालकले अचानक पोखरातर्फ फर्काउने क्रममा दुर्घटना हुन गएको प्रारंम्भिक अनुमान अधिकारीहरुको छ।

बुद्ध एअरको बीचक्राफ्ट विमान राजधानी नजीकै ललितपुरको एउटा पहाडमा ठोक्किएर दुर्घटना भएको आठ महिना नबित्दै अर्को दु:खद दुर्घटना किन थपियो? जवाफ सहज छैन।

तर उड्डयनबारेका जानकार तथा वरिष्ठ विमान चालकहरु उडानलाई सुरक्षित बनाउन सुरक्षा संग कुनै पनि सम्झौता गरिनु नहुने बताउंछन्।

वरिष्ठ विमान चालक तथा यति एअरका क्याप्टेन रवि कंसाकारले भने, “हिजो मैलै राम्रो काम गरे भनेर सन्तुष्ट हुनुहुँदैन, उड्डयन क्षेत्रका सबै जना संधै सजग भए यस्ता दुर्घटना कम गर्न सकिन्छ।”

महत्वपुर्ण

अर्का अनुभवी विमान चालक नेपाल एअरलाइन्सका क्याप्टेन विजय लामाका विचारमा हवाइ दुर्घटनाहरु घटाउन आकाशदेखि जमीनसम्म काम गर्ने सम्बद्ध सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ।

वायु सेवा, उड्डयन प्राधिकरण, विमान चालक, प्राविधिक सबैले आफ्नो काम राम्ररी गर्‍यो भने भविष्यमा दुर्घटना कम गर्न सकिने लामाले बताए।

नेपालमा हवाइ सुरक्षाबारेको एउटा अध्ययन अनुसार सन् १९५५ देखि अहिलेसम्म गरी नेपालमा ७१ वटा हवाइ दुर्घटना भइसकेका छन्।

६२ वर्षमा नेपालमा हवाइ दुर्घटनामा परी झण्डै सात सय व्यक्तिको ज्यान गइसकेको सो अध्ययनले देखाएको छ।

गत १२ वर्षमा मात्रै नेपालमा भएका हवाइ दुर्घटनामा परी झण्डै २०० सय जनाको ज्यान गएको थियो।