तराई केन्द्रित दलहरु आन्दोलनमा

  • 17 मे 2012
अवरुद्व संसद
Image caption उपेन्द्र यादव सहितका नेताहरु रहेको बृहत मधेशी मोर्चाले बिहीबार संसद अवरुद्ध गरेको थियो

सरकारमा सहभागी र सरकार बाहिरै रहेका सबै तराई केन्द्रित दलहरुले मुलुकमा ११ वटा संघीय प्रदेश बनाउने प्रमुख तीनदलको सहमति विरुद्ध विरोध र आन्दोलन एकसाथ चर्काएका छन्।

सरकारमा सहभागी मधेशी मोर्चाले उक्त सहमति नसच्चिए सरकार छोड्ने धम्की दिएको छ ।

त्यस्तै उपेन्द्र यादवले नतृत्व गरेको बृहत लोकतान्त्रिक मधेशी मोर्चाले त्यो सहमति बिरुद्ध संसद अवरोध गर्न शुरु गरेको छ र सडक संघर्षमा उत्रेको छ।

धम्की

लामो समयदेखि सरकारमा सहभागी हुँदै आएको पाँच वटा तराई केन्द्रित दलहरुको मधेशी मोर्चाका नेताले माओवादी अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेस एवं एमालेका नेतालाई भेटेर सहमति नसच्चाए सरकारबाट बाहिरिने धम्की दिएका हुन्।

आफूहरुको सहमतिबिना तीन दलले एकपक्षीय रुपमा प्रदेशको संख्या घोषणा गरेको, तराईलाई विभिन्न प्रदेशमा बाँडेर टुक्राउन खोजेको आरोप मोर्चाले लगाएको छ।

संविधानसभाको समिति र राज्य पुनर्सरचना आयोगले दिएको सुझावका आधारमा प्रदेशको संख्या र सीमांकन तोकिनु पर्ने माग मोर्चाले उठाएको छ।

आफ्नो विमतिबारे मोर्चका सदस्य एवं सदभावनका पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्णले भने, “संविधानसभा समिति र राज्य पुनर्संरचना आयोगले दिएको सुझाव विपरित खल्तीबाट झिकेर ल्याईएका ११ प्रदेश हामी मान्दैनौं।”

शुरु शुरुमा व्यापक बनेको तर बीचमा सेलाएर बसेको एक मधेश एक प्रदेशको मागलाई पुन: चर्काउने निर्णय गरिएको मोर्चा सम्बद्ध नेताहरुले बताए।

आफुहरुसँग भएको भेटमा माओवादी अध्यक्ष प्रचण्डले मोर्चा सहितको चार पक्षीय सहमति विना केहि पनि हुन नसक्ने बताएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए।

अवरुद्ध

मोर्चा र प्रमुख तीन दलको बैठक बसेर सबै विषय मिलाउने आश्वासन प्रचण्डले दिएको उनको भनाइ थियो।

सरकारमा गएर पनि राजीनामा गर्न पाध्य पारिएका तराईका कतिपय नेताहरु समेत सम्मिलित बृहत लोकतान्त्रिक मधेशी मोर्चाले बिहीबार दिउंसो पत्रकार सम्मेलन गरी ११ वटा संघीय प्रदेश बनाउने सहमति बिरुद्ध संसद अवरुद्ध र तराईमा अनिश्चितकालिन बन्दको घोषणा गरेको थियो।

त्यो घोषणा भएको केही बेरमा शुरु भएको व्यवस्थापिका संसदको बैठकमा प्रवेश गरी मोर्च सम्बद्ध सभासदहरुले नारबाजी गर्दै संसद अबरुद्ध गरेका थिए।

मोर्चाका सभासदहरुले लगातार नाराबाजी गरेपछि सभामुखले त्यसो नगर्न पटक पटक सम्झाउनु परेको थियो ।

तर त्यति गर्दा पनि उनीहरुले अटेर गरिरहे।

सीमित व्यक्ति बसेर आफुहरुलाई अमान्य हुने गरी संविधान बनाउन लागेको विरोधमा आन्दोलनमा उत्रिएको बृहत मधेशी मोर्चाका संयोजक उपेन्द्र यादवले बताए।

उनले भने, “संविधानसभाको अपमान हुने गरी स्वार्थ बोकेका सीमित नेताले बनाएको संविधान नेपाली जनताले स्वीकार गर्ने छैनन्।”

यादव नेतृत्वको मोर्चाले संसद अवरुद्ध गरेपछि शुक्रबार ३ बजे सम्मका लागि संसद स्थगन गरिएको छ ।

संविधान जारी गर्ने दिन जेठ १४ नजिकिदै गर्दा संविधान जारी गर्ने थलो संविधानसभा नै अवरुद्ध पार्न थालिएकाले परिस्थिति थप जटिल हुन सक्ने संकेतहरु देखिएका छन् ।