आन्तरिक मामिलामा भारतीय हस्तक्षेप: तीन दल

  • 18 मे 2012
इन्डिया गेट
Image caption नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेपको चर्चा बेलाबेला हुने गरेका छन् जसको भारतले खण्डन गर्ने गर्छ

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारीलाई फिर्ता पठाउन सत्तारुढ तीन प्रमुख पार्टीले माग गरेका छन्।

तराईमा आन्दोलन चर्काउन स्थानीय नेतालाई उचालेको भन्ने समाचार प्रकाशमा आएपछि एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताको बैठकले त्यस्तो निर्णय गरेको हो।

बैठकपछि माओवादी उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भने, "एक मधेस प्रदेश हुनु पर्ने धारणा राख्नुका साथै त्यसका निम्ति मधेस आन्दोलन गर्न आग्रह गर्दै त्यसमा आफ्नो समर्थन रहने ती कर्मचारीको भनाइ आन्तरिक मामिलामा हस्तक्षेप हो। त्यसैले उनलाई भारत फिर्ता पठाउनु पर्छ भन्ने हाम्रो माग छ।"

खण्डन

माहावाणिज्य दूतावासका कर्मचारी एसडी मेहताले राजनीतिक दलका स्थानीय नेताहरुलाई एउटा रात्रीभोजका क्रममा आन्दोलनका निम्ति प्रेरित गरेको समाचार कान्तिपुर र दि काठमाण्डू पोष्ट दैनिकमा छापिएको थियो।

तर भारतीय दूतावासले उक्त समाचारको खण्डन गरेको छ।

दूतावासले एउटा विज्ञप्ती प्रकाशित गर्दै ती समाचार तथ्यगत रुपमा गलत र भ्रामक भएको जनाएको छ।

भारतीय कर्मचारीसँगै उपस्थित चारजना स्थानीय नेताहरुसँग बीबीसीले उक्त प्रकरणबारे कुराकानी गर्दा उनीहरुका प्रतिकृया विरोधाभाषपूर्ण लाग्दथे।

ध्यानाकर्षण

शीर्ष बैठकले मेहताले दिएको भनिएको अभिव्यक्तिलाई लिएर भारत सरकार सामु आपत्ती प्रकट गर्ने निर्णय पनि गरेको छ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, "हामीले परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारको ध्यानाकर्षण गराउने र आपत्ती प्रकट गर्ने निर्णय पनि गरेका छौं।"

माओवादी अध्यक्ष प्रचण्डले भारतीय राजदूत जयन्त प्रसादलाई बोलाएर त्यस विषयमा प्रष्ट पार्न आग्रह गरेको प्रचण्डको निजी वेबसाईटले जनाएको छ।

एमाले केन्द्रिय कमिटीको बैठकले पनि त्यसप्रति गम्भीर आपत्ती प्रकट गरेको थियो।