संविधानसभा पुनर्स्थापनाको माग

  • 3 जुन 2012
Image caption कानुनी जटिलताको अन्त्य गर्न भन्दै कांग्रेस सम्बद्ध केही सभासदले संसद पुनर्स्थापनाको माग गरेका छन्

सरकारले घोषणा गरेको चुनावको कानुनी पक्षबारे विवाद चलिरहँदा विपक्षी नेपाली कांग्रेसका कतिपय पूर्व सभासदले संविधानसभा पुनर्स्थापनाको माग गरेका छन्।

संविधानसभा भंग भएको ठीक एकसातापछि आइतबार कांग्रेसका ६० भन्दा बढी पूर्व सभासदहरुले एक भेला गर्दै हाल देखिएका कानुनी जटिलता सल्ट्याउन संविधानसभा ब्युँत्याउनुपर्ने माग राखेका थिए।

भेलामा उपस्थित कांग्रेसका पूर्व सभासद शोभाकर पराजुलीले सबै दलका नेता र नागरिक समाजसमक्ष आफ्ना माग लिएर जाने बताए।

पराजुलीले भने, “२०६३ को अन्तरिम संविधान संशोधनविना चुनाव र सहमति दुवै संभव छैन। संविधान संशोधन व्यवस्थापिका संसदबाट मात्र संभव छ। त्यसैले जनताद्वारा निर्वाचित एक मात्र संस्था संविधानसभा पुनर्स्थापना गरिनुपर्छ।”

विफल

संविधान जारी गर्न विफल भएको भन्दै गत जेठ १४ गते मध्यरातमा प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ संविधानसभाको चुनाव घोषणा गरेका थिए।

चुनाव सम्पन्न गर्न कानुनी जटिलता रहेको र संविधान संशोधन गर्ने निकाय नरहेकाले उत्पन्न कानुनी जटिलता पन्छाउन सरकारले सहमतिको प्रयास थालेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताए।

उनले भने, “संविधानसभा पनि छैन, व्यवस्थापिका संसद पनि छैन त्यसैले यस्तो अवस्थामा राजनीतिक सहमति गरेर चुनावतिर जानु नै उपयुक्त हुन्छ।”

सक्रियता

संविधानसभा भंग भएपछि प्रधानमन्त्री र मन्त्रिपरिषद कामचलाउ बनेकाले सबैका आँखा राष्ट्रपतितर्फ पुगेका छन्।

तर प्रधानमन्त्री स्वयं या दलहरुले सक्रियता नदेखाइ राष्ट्रपतिले आफ्नै पहलमा कुनै कदम चाल्न नसक्ने बताइन्छ।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, एकखालको राजनीतिक सक्रियताको रुपमा देखिएको कांग्रेस सभासदको संविधानसभा पुनर्स्थापना मागको पनि कानुनी आधार देखिन्न।