प्रधानमन्त्रीको राजीनामा माग्दै विपक्षीहरुद्वारा दबाब

  • 4 जुन 2012
प्रमुख दलका नेताहरु
Image caption प्रमुख राजनीतिक शक्तिहरुबीचको ध्रुविकरण सहमतिका लागि वाधक देखिएको छ

प्रधानमन्त्री बाबुराम भट्टराईलाई सत्ता छाडन वाध्य तुल्याउने उद्देश्यले नेपाली कांग्रेस र नेकपा एमाले लगायत कैंयौं साना दलहरुले आफनो दबाबमूलक कार्यक्रमहरुलाई तीव्रता दिने जनाएका छन्।

त्यसै क्रममा उनीहरुले आउंदो शनिबार काठमाण्डूमा एउटा वृहत् आमसभा आयोजना गर्ने निर्णय गरेका छन्।

अर्कोतिर सत्ताधारी माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतका दलहरुले पनि विपक्षीहरुको दबाबविरुद्ध अभियान थाल्ने प्रस्तावबारे छलफल गरेका छन्।

तर सो प्रस्तावलाई सोमबार बसेको १९ दलको बैठकमा सहभागी कतिपय साना दलहरुले स्वागत नगरेको नेपाल परिवार दलका नेता एकनाथ ढकालले बताए।

उनले भने, “ठूला दलहरु दुई ध्रुबमा बाँडिएर समस्या समाधान हुँदैन, सहमति जुट्दैन भन्ने सुझाव हामी साना दलहरुका प्रतिनिधिहरुले दियौं।”

रणनीति

संविधानसभा विघटन भएको एक साता भइसकेको छ, तर दलहरु सहमति जुटाउन भन्दा पनि एक अर्कालाई निषेध गर्ने रणनीतिमा तल्लिन देखिन्छन्।

कांग्रेस एमाले सहित २६ दलले प्रधानमन्त्रीलाई सत्ता छोड्न बाध्य बनाउन आउंदो शनिबार हुने आमसभामा एक लाख भन्दा बढी मानिसहरुलाई सडकमा ल्याउने योजना बनाएका छन्।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले भने, “कामचलाउको पनि हैसियत नरहेको प्रधानमन्त्रीको वहिर्गमनको विकल्प अरु कुनै नयाँ सहमति हुन सक्दैन।"

विपक्षी नेताहरु प्रधानमन्त्रीले आफ्नो संवैधानिक हैसियतबारे दिएको अभिव्यक्तिदेखी रुष्ट देखिए।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, “म पूर्णरुपमा कार्यकारी प्रधानमन्त्री हो भनेर उहाँले भनी राख्नु भएको छ, उनको संविधान अनुसार चल्ने मनस्थिति देखिदैन।”

आक्रोश

प्रधानमन्त्रीले यसअघि भएका पाँच बुँदे लगायत अन्य सहमति अनुसार चले अझै मिलनविन्दु खोज्न सकिने नेकपा एमालेका नेता भीम रावलले बताए।

तर प्रधानमन्त्री भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासहरुमा विपक्षीहरुसंग वार्ता समेत शुरु नगरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन्।

उनीहरु भन्छन्, सत्तामा भएका कारण सहमतिको वातावरण बनाउन माओवादीले बढी जिम्मेवारी लिनु पर्छ।