संविधानसभा ब्युँताउने विकल्प खुला: प्रचण्ड

  • 5 जुन 2012
माओवादी अध्यक्ष प्रचण्ड
Image caption माओवादी अध्यक्ष प्रचण्डले संविधानसभा पुनर्स्थापाना गर्ने विकल्पमा छलफल गर्ने सकिने बताएका छन्।

माओवादी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा पुनर्स्थापनाको संभावना नरहेको बताएको एक दिनपछि उनकै पार्टिका अध्यक्ष प्रचण्डले त्यस्तो संभावना नकार्न नसकिने बताएका छन्।

मंगलबार माओवादी लगायतका सत्तापक्षीय पार्टीहरुले आयोजना गरेको एउटा अन्तरक्रियामा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन।

उनले भने, “सरकारले अहिले संविधानसभाको निर्वाचनको घोषणा गरेको छ, तर त्यसको अर्थ अरु विकल्पमा राजनीतिक दलहरुसंग छलफलनै नगर्ने भन्ने होइन।

“राजनीतिक सहमति भए राष्ट्रपति मार्फत संविधानसभाको पुनर्स्थापनाको बारेमा पनि छलफल गर्न सकिन्छ।”

पुनर्स्थापना

सोमबार प्रधानमन्त्री बाबुराम भट्टराईले एक भारतीय अखबार द हिन्दुसंगको अन्तरवार्तामा संविधानसभा पुनर्स्थापनाको संभावना नरहेको बताएका थिए।

तर मंगलबारको अन्तर्क्रिया कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले संविधानसभा विघटन हुनमा नेपाली कांग्रेस र नेकपा एमाले दोषी रहेको देखाउन धेरै समय खर्चिए।

यद्यपि करिब ४० मिनेट लामो आफ्नो भाषणमा प्रचण्ड केही लचिलो पनि देखिन्थे।

नेपाली कांग्रेसका कतिपय सभासदले संविधानसभा ब्युँत्याउनु पर्ने माग उठाइरहेका बेला प्रचण्डले पनि त्यो विकल्पलाई खुल्ला राख्न सकिने बताए।

तर सत्ताधारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा त्यसको विपक्षमा रहेको देखिन्छ।

ध्रुवीकरण

मोर्चाका संयोजक तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधानसभा पुनर्स्थापनातिर जान नहुने बताए।

प्रचण्डले चाँही राष्ट्रिय सहमितको सरकार बनाउनु पर्नेमा जोड दिए।

नेताहरूले सहमतिको अपिल गरेपनि संविधानसभा विघटनपछि तीव्र भएको आरोप प्रत्यारोपको क्रमले प्रमुख दलहरुबीच ध्रुवीकरण झनै बढाएको देखिएको छ।