नयाँ चुनावबाट राजतन्त्र फर्काउँछौं: थापा

  • 9 जुन 2012
राप्रपा नेपालको सभा तस्वीर कपीराइट bbc
Image caption संविधान लेखनको विफलताले आफूप्रति जनता थप आकर्षित हुने राप्रपा नेपालको विश्वास पाइन्छ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ चुनाव बाहेक अन्य विकल्प खोजिए सडकबाटै राजसंस्था र २०४७ सालको संविधान पुनर्स्थापना गर्ने चेतावनी दिएका छन्।

फेरि संविधानसभाको चुनाव वा त्यसको पुनर्स्थापना लगायतका विकल्पबारे बहस भइरहेका बेला थापाले काठमाण्डूको खुलामञ्चबाट त्यस्तो चेतावनी दिएका हुन्।

माओवादी र सरकारविरुद्ध २२ पार्टीले सभा गरेको भोलिपल्ट खुलामञ्चमै राप्रपा नेपालले 'वृहद शक्ति प्रदर्शन' नाम दिइएको अर्को सभा आयोजना गरेको थियो।

निष्पक्ष चुनाव गराउन वहालवाला वा पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा सरकार गठनको गरिनु पर्ने थापाको माग थियो।

दाबी

उनले नागार्जुन दरवारमा बसिरहेका तत्कालीन राजालाई धैर्य गर्न आग्रह गर्दै भने, "चुनाव भयो भने चुनावबाटै, चुनाव हुन दिइएन भने लाखौं जनता सडकमा उत्रिएर नागार्जुनबाट राजालाई नारायणहिटीमा पुनस्थापना गर्नेछौं।"

संविधानसभाको विघटनपछि गणतन्त्र कार्यान्वयन गरिएको पहिलो बैठकदेखि जेठ १४ गतेसम्मका सबै काम शून्यमा परिणत भएको थापाको तर्क थियो।

उनले त्यसकै आधारमा संविधानसभाको चुनावभन्दा अगाडिको स्थितिमा देश पुगेको जिकिर गरेका थिए।

अध्यक्ष थापाले राजतन्त्र विरुद्ध माओवादी र कांग्रेस-एमाले लगायतका दलले शुरु गरेको सहयात्रालाई अप्राकृतिक सहकार्यको रूपमा अर्थ्याएका थिए।

कांग्रेस र एमालेले माओवादीमाथि सर्वसत्तावाद लादन खोजेको सन्दर्भमा थापाले प्रधानमन्त्रीमाथि प्रजातान्त्रिक शक्ति समाप्त पार्ने प्रस्ताव गरेको दावी गरेका थिए।

राजा-माओवादी

शाहीकालमा सरकारी वार्ताकार रहेका थापाले आफ्ना सहपाठी भट्टराई नेतृत्वको माओवादी टोलीसँग दाङको हापुरेमा भएको शान्तिवार्ताको प्रसंग उल्लेख गर्दै त्यस्तो दावी गरेका थिए।

वर्तमान प्रधानमन्त्रीले राजाले आफूहरुलाई सत्ता दिने नदिनेबारे सोधेको बताउँदै भने, "अरु पार्टीहरु पनि हुँदाहुँदे तपाईहरुलाई मात्रै कसरी दिने भन्दा 'हामी र राजा मिले अरू त सफा हुन्छन' भनेका थिए।"

तर राजाले प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिलाई समाप्त पार्न अस्वीकार गरेको उनको भनाइ थियो।

राजाको प्रत्यक्षकालका शक्तिशाली मन्त्री थापाले गणतन्त्र स्थापना भइसकेपछि पनि राजसंस्था र हिन्दूअधिराज्यको पक्षमा एवं संघीयता विरुद्ध अभियान चलाइरहेका छन्।