राष्ट्रपतिले सर्वदलीय बैठक बोलाए

  • 16 जुन 2012
Image caption राष्ट्रपतिले राजनीतिक गतिरोध अन्त्य गर्न भनेर दलका नेताहरुसँग बैठक डाकेका छन्

संविधानसभाको अवसान भएको तीन सातापछि राष्ट्रपति रामबरण यादवले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न सबै दलका प्रमुख नेताहरुलाई आइतबार परामर्शका लागि निम्त्याएका छन्।

विघटित संविधानसभामा प्रतिनिधित्व गरेका सबै दलका नेताहरुलाई बोलाएर राष्ट्रपतिले सबैका कुरा सुन्ने र आफ्ना कुरा राख्ने भनिएको सो भेटघाटलाई महत्वका साथ हेरिएको छ।

गत जेठ १४ गते मध्यरातमा संविधान जारी नगरी संविधानसभा भंग भए यता उत्पन्न राजनीतिक गतिरोधबारे राष्ट्रपति यादव राजनीतिक दलका नेता र कानुनविदहरुसँग निरन्तर औपचारिक, अनौपचारिक परामर्शमा व्यस्त रहँदै आएका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपतिले उत्पन्न गतिरोध निकासको उपायको खोजी गर्नेछन्।

निकास

दाहालले भने, "संविधानसभाको अवसानपछि उत्पन्न राजनीतिक गतिरोधको निकास पहिल्याउन जरुरी भइसकेको छ। तत्काल निकास दिनुपर्‍यो। सहमति कायम गरेर जानुको विकल्प छैन भन्ने उहाँको भनाइ हो।"

राष्ट्रपतिले परामर्शका लागि बोलाएको अघिल्लो दिन शनिबार विघटित संविधानसभाका प्रमुख दलका शीर्ष नेताहरुबीच भएको कुराकानीमा गत जेठ दुइ गते भएको पाँच बुँदे सहमतिलाई आधार बनाएर निकास निकाल्ने कुराकानी भएको बताइएको छ।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै शनिबार नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधव कुमार नेपाल सँग उनीहरुकै निवास पुगेर कुराकानी गरेका थिए।

कोइराला निवासबाट बाहिरिँदा प्रचण्डले भने, "सुशील कोइरालाजीसँग बडो सौहार्द्रपूर्ण वातावरणमा कुरा भयो। हामीले गरेको पाँचबुँदेलाई आधार बनाएर त्यहींबाट अगाडि बढ्ने कुराकानी भएको छ।"

तराइ केन्द्रीत दलहरुको मधेशी मोर्चाका प्रतिनिधि सहित चार राजनीतिक शक्तिले गरेको पाँच बुँदे सहमतिमा संघीयता र शासन प्रणाली, न्यायालय लगायतका विषयमा दलहरुको सामूहिक प्रतिबद्धता छ।

नयाँ पार्टी

यसैबीच माओवादी पार्टीभित्र लामो समयदेखि अन्तरसंघर्ष गर्दै आएका वरिष्ठ उपाध्यक्ष मोहन बैद्यले नयाँ पार्टी गठन गर्ने प्रक्रिया शुरु भएको बताएका छन्।

काठमाडौंमा शनिबार शुरु भएको आफु पक्षधर राष्ट्रिय कार्यकर्ता भेलामा बैद्यले त्यस्तो दावी गरेका हुन्।

उनले भने, "नयाँ ढंगको पार्टीको निर्माण गर्दै नेपाली क्रान्तिलाई नयाँ ढंगले संगठित गर्न हामी अगाडि बढ्छौं।"

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, राष्ट्रपति र प्रमुख नेताहरुले राजनीतिक संवादको सिलसिला जारी राखेपनि सबैजसो दलमा उत्पन्न चर्को आन्तरिक विवाद समाधान नभै वर्तमान राजनीतिक गतिरोधको निकास निस्कन मुश्किल छ।