‘विद्रोह बाट क्रान्तिमा पुग्न नयाँ पार्टी’

  • 19 जुन 2012
बैद्य पक्षको पत्रकार सम्मेलन
Image caption तत्काल बल प्रयोग गर्ने वा भीडन्तमा जाने नीति आफूहरुले नलिएको बैद्यले बताएका छन्

एकीकृत माओवादीबाट फुटेर अलग भएको नेकपा- माओवादीका अध्यक्ष मोहन बैद्यले लामो तयारी गरी विद्रोह मार्फत, उनकै शब्दमा, जनक्रान्तिमा पुग्नका लागि नयाँ पार्टी जन्माएको बताएका छन्।

तीन दिन सम्म राजधानीमा चलेको राष्ट्रिय भेलाले लिएका निर्णयहरु सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा बैद्यले नयाँ जनवादी गणतन्त्रमा जान तयार भएमा मात्र एकीकृत माओवादीको संस्थापन पक्षसँग एकता हुन सक्ने बताए।

नेता, कार्यकर्ता, शुभचिन्तक र सञ्चारकर्मीहरुले खचाखच भरिएको प्रज्ञा भवनको हलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नवगठित नेकपा, माओवादीका अध्यक्ष बैद्यले एकीकृत माओवादीको संस्थापन पक्षलाई, उनकै शब्दमा, नव संशोधनवाद, अवसरवाद र आत्मसमर्पणवादको संज्ञा दिए।

आफ्नो नयाँ दलका अरु नेता भन्दा निकै गम्भीर तर आक्रामक रुपमा प्रस्तुत बैद्यले शुरुमा पूरानो पार्टीका प्रचण्ड र बाबुराम भट्टराईसँग सम्बन्ध विच्छेद गर्नुको कारण उल्लेख गर्दै भने, “सेना समायोजन, विभिन्न आन्दोलन र अन्य धेरै विषयका साथै राष्ट्रिय स्वाधीनताका सवालमा समेत संस्थापन पक्षले आत्मसमर्पण गरेकाले सँगै बस्नुको कुनै अर्थ छैन भन्ने निष्कर्षमा पुग्यौं र नयाँ पार्टी जन्मायौं।”

विद्रोह

जनविद्रोह मार्फत र जनक्रान्तिको लक्ष्य पुरा गर्ने आधार तयार पार्न नयाँ पार्टी निर्माण गरिएको उनको भनाइ थियो।

“अहिले नै विद्रोह सम्भव नभए पनि लामो तयारी पश्चात विद्रोह मार्फत जनक्रान्तिमा पुग्ने महत्वपूर्ण निर्णय हामीले गरेका छौं।”

आउँदो फागुनमा आफ्नो पार्टीको महाधिवेशन तय गरिएको र त्यतिबेला सम्म संस्थापनपक्षसँग एकताको ढोका खुलै राखिने बैद्यले खुलस्त पारे ।

उनले भने, “यदि प्रचण्ड र बाबुरामहरु गम्भीर आत्मालोचना गरि सच्चिन्छन् र नयाँ जनवादी गणतन्त्रमा जान तयार हुन्छन् भने एकताको ढोका खुलै छ, तर हामीहरु प्रचण्डतिर जाने होईन, प्रचण्ड हामीतिर आउनुपर्छ।”

माओवादीको सशस्त्र विद्रोहकालमा भारतमा पक्राउ परी त्यहाँको जेलमा लामो समय बिताएका बैद्यले राज्यका हरेक क्षेत्रमा हस्तक्षेप बढाएको भन्दै भारतको तीव्र आलोचना गरे।

“कठपुतली सरकार बनाउने र आफ्नो स्वार्थ पुरा गर्ने काममा भारतीय विस्तारवादको हस्तक्षेप तीव्र छ,” उनले भने।

नीति

विघटित संविधानसभा पुनर्स्थापना र नयाँ संविधानसभाको चुनाव दुबैको अर्थ नरहेको उनको भनाई थियो।

आफूहरुको मुख्य लडाईं संसदवादका विरुद्धमा रहेको भन्दै बैद्यले नयाँ पार्टी दर्ता नहुन पनि सक्ने बताए।

राष्ट्रिय एकताको सवालमा पूर्व राजासँग एकता हुने सम्भावना नरहेको भन्दै उनले सर्वपक्षीय गोलमेच सम्मेलन मार्फत विद्यमान समस्याको समाधान खोजिनु पर्ने बताए।

तत्काल कुनै बल प्रयोग नगर्ने र भीडन्तमा पनि नजाने नीति रहेको बताउँदै बैद्यले परिस्थितिको मूल्यांकन गरेर जनविद्रोह वा जनयुद्ध जुन सुकै बाटो रोज्न सकिने जनाएका थिए।