‘चुनावबाट अर्को सरकार नआउञ्जेल यही सरकार’

  • 25 जुन 2012
प्रधानमन्त्री बाबुराम भट्टराई तस्वीर कपीराइट bbc
Image caption प्रधानमन्त्री बाबुराम भट्टराईले एक सातामै आफनो अडान परिवर्तन गर्दै राजीनामा नदिने बताएका छन्।

एक हप्ता अघि दीगो विकास सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन ब्राजिल जानु अगाडि सम्म सहमतीय उम्मेदवार प्रस्तुत भए राजीनामा दिने बताईरहेका प्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार त्यहाँबाट फर्किएपछि नयाँ निर्वाचित सरकार गठन नभए सम्म राजीनामा नदिने बताएका छन्।

उनको अडानमा आएको यो परिवर्तनलाई धेरैले ब्राजिलको रियो दि जेनेरोमा नेपाली राजनीतिमा पछिल्ला वर्षहरुमा व्यापक प्रभाव पारिरहेको छिमेकी भारतका प्रधानमन्त्री मनमोहनसिंहसँग भएको भट्टराईको भेटसँग जोडेर हेरेका छन्।

स्वदेश फर्के लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मलेनमा प्रधानमन्त्री भट्टराई कडारुपमा प्रस्तुत भएका थिए।

विपक्षीहरुको राजीनामाको मागलाई ठाडै अस्वीकार गर्दै उनले अर्को निर्वाचन भएर गठन हुने नयाँ सरकारलाई मात्र सत्ता हस्तान्तरण गर्ने बताए।

भट्टराईले भने, “नयाँ निर्वाचन भएर व्यवस्थापिका संसद आए पछि जनताले जे फैसला गर्छन् त्यसको आधारमा नयाँ सरकार बन्छ र त्यस भन्दा पहिले यही सरकार रहन्छ।”

परिवर्तन

गत सोमबार ब्राजिलको रियो दी जेनेरो जानु अघि उनले सहमति भए राजीनामा दिने बताउँदै आएका थिए।

एकै सातामा उनको अडानमा आएको यति ठूलो परिवर्तनबारे विभिन्न अडकल काट्न थालिएको छ।

केही आलोचकहरुले त उनी भारतीय प्रधानमन्त्रीलाई भेट्नका लागि नै रियो दि जेनेरो गएको दावी गरेका थिए।

भट्टराईले पनि भारतीय प्रधानमन्त्री मनमोहन सिंहसंगको भेटमा महत्वपुर्ण छलफलभएको बताए।

त्यसबारे उनले भने, “भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँगको कुराकानी महत्वपूर्ण रहयो, हाम्रो महत्वपूर्ण छिमेकी भएको कारण उहाँहरुको चासो स्वाभाविक हो र हाम्रो लोकतन्त्र, शान्ति र संविधान प्रतिको प्रतिबद्धता देखि उहां आस्वस्त भएको पाएं।”

'माघ १९'

कतिपयले प्रधानमन्त्रीको सो भनाइलाई उनको सरकार भारतीय समर्थनमा टिकी रहेको प्रमाणका रुपमा पनि लिनेछन् ।

माघ १९, २०५९ मा राजा ज्ञानेन्द्रले आफनो हातमा प्रत्यक्ष शासन लिएको प्रसंग कोट्याउदै पत्रकार सम्मलेनमा भट्टराईले घुमाउरो शैलीमा राष्ट्रपतिलाई चेतावनी दिन खोजेको आभास मिल्थ्यो।

भट्टराईले भने, “माघ १९ मा जे भएको थियो र देशले जसरी दुख: पाएको थियो, त्यस्तो स्थिति आउन सक्छ र त्यतापट्टि हामी कसैले पनि सोंच्नु हुंदैन।”

विपक्षीहरुको विरोध छल्दै साता लामो ब्राजील भ्रमणमा गएका प्रधानमन्त्रीले फर्कदा पनि उनीहरुको विरोधको सामना गर्नुप-यो।

कालो झन्डा सहित विरोधमा उत्रिएका नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्तामध्ये कैयौं प्रहरीसँगको झडपमा घाइते भएका थिए।

हाम्रा काठमाण्डूस्थित एकजना संवाददाता भन्छन्, प्रधानमन्त्री र विपक्षी दलहरु दुबैको कडा हुँदै गएको अडानलाई संकेत मान्ने हो भने सहमतिको मन्त्र जपे पनि दलहरुबीचको दूरी अझै बढ्दै गएको प्रष्ट देखिन्छ।