‘तत्काल सहमतिको पहल गर्नुस्’

  • 27 जुन 2012
राष्ट्रपति रामवरण यादव
Image caption अध्यादेश मार्फत नभई सहमतिमै बजेटको तयारी गर्न पनि राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्

नयाँ सरकार नआएसम्म राजीनामा नगर्ने विवादास्पद अभिव्यक्तिका कारण आलोचना खेपीरहेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको पहल तत्काल शुरु गर्न सुझाव दिएका बताइएको छ।

सहमितका लागि तयार छु भन्दै कुरा मात्र गरेर नबस्न र त्यसको सुरुवात आफैले गरेर देखाउन राष्ट्रपतिले प्रधानमन्त्रीलाई आग्रह गरेको बुझिएको छ।

भेटमा प्रधानमन्त्रीले अर्को सरकार नआएसम्म राजीनामा नदिने भन्ने आफ्नो भनाइलाई गलत व्याख्या गरिएको भन्दै त्यसको बचाउ गर्ने प्रयास गरेको बुझिएको छ।

अब हुने चुनावबाट नयाँ सरकार नआउञ्जेल राजीनामा नदिने तीन दिन अघिको विवादास्पद अभिव्यक्तिका कारण चौतर्फी आलोचना खेपीरहेका प्रधानमन्त्री भट्टराईले राष्ट्रपतिसँगको भेटमा शुरुमा ब्राजिलमा सम्पन्न कार्यक्रम र त्यहाँ आफूले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग गरेको भेटघाटबारे जानकारी गराएका थिए।

व्याख्या

त्यस लगत्तै राष्ट्रपतिले राजीनामा नगर्ने भनाइका सम्बन्धमा प्रधानमन्त्रीसँग विशेष जिज्ञासा राखेको र त्यस्को उत्तरमा प्रधानमन्त्रीले आफ्नो आसयको गलत व्याख्या गरिएको बताएको बुझिएको छ।

प्रधानमन्त्रीले राजीनामा दिंदै नदिने भन्ने आफ्नो मनसाय नभएको र सहमतिका लागि जहिले पनि तयार रहेको जानकारी राष्ट्रपतिलाई गराएको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए।

दाहालले भने, “उहाँको भनाइ म सहमतिका लागि जैले पनि तयार छु र त्यसका लागि वाधक बन्दिनं भन्ने नै थियो।”

सहमति गर्छु भन्ने तर त्यसका लागि पहल नथाल्ने प्रधानमन्त्रीको शैलीप्रति संकेत गर्दै राष्ट्रपतिले सहमतिको पहल आफैबाट शुरु गर्न स्पष्ट भाषामा आग्रह गरेको पनि प्रेस सल्लाहकार दाहालले उल्लेख गरे।

दाहालले थपे, “प्रधानमन्त्रीको हैसियतले सहमतिका लागि तपाईले नै विशेष पहल थाल्नु पर्छ भन्ने राष्ट्रपतिको आग्रह रह्यो।”

प्रधानमन्त्री भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले चाहिं राजीनामा नगर्ने भनाइका सम्बन्धमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको कुराकानीलाई प्रष्टाउन खोज्दै भने, “सहमति नबनीकन त्यत्तिकै बेवारिसे अवस्थामा सरकार छोड्ने कुरा आउँदैन, कि चुनावी प्रक्रियाबाट नयाँ सरकार आउनुपर्छ होईन भने त्यत्तीकै सरकार छोड्ने कुरा आउँदैन भनेर प्रधानमन्त्रीले बताउनु भएको थियो र राष्ट्रपतिसँग पनि त्यही कुरा राख्नुभयो।”

प्रेस सल्लाहकार दाहालका अनुसार अध्यादेश मार्फत नभइ सहमतिमा मात्र बजेटको तयारी गर्न पनि राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

आफ्नो अभिव्यक्तिलाई विपक्षी दलले मात्र होईन स्वयं आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले समेत नरुचाएको बताईँदै गर्दा आफू विरुद्ध बढिरहेका आलोचनाका स्वरलाई मत्थर पार्ने प्रयासस्वरुप प्रधानमन्त्रीले आफ्नो भनाइको बचाउ गर्न खोजेको विश्लेषण कतिपयले गरेका छन् ।