पौडीकी श्रेया धितालको ओलिम्पिक्स खेल आज

  • 1 अगस्ट 2012
श्रेया धिताल
Image caption श्रेया धितालले बुधवार एक्वेटिक सेन्टरमा १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्देछिन्।

ओलिम्पिक्सअघि एक महिना विशेष प्रशिक्षण लिएपछि हौसिएकी पौडिबाज श्रेया धितालले बुधवार ओलिम्पिक रंगशालाको छेउमा रहेको एक्वेटिक सेन्टरमा १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्देछिन्।

लण्डन नजीक, गार्डेन अफ इङल्याण्ड नामले चिनिने केन्ट शहरको प्रशिक्षण र ओलिम्पिक भिलेजको नियमित अभ्यासले श्रेया धितालको आत्मविश्वास धेरै बढेको देखिन्छ।

ओलम्पिकको खेलमय बातावरणले पनि उनमा उत्साह झन थपिएको देखिन्छ।

यहि उत्साहका साथ १८ वर्षिया नेपालकी कीर्तिमानी खेलाडी श्रेयाले एक्वेटिक सेन्टरमा एउटा उद्देश्यका साथ प्रतिस्पर्धा गर्देछिन्।

ओलिम्पिक सहभागितालाई आश्चर्यजनक अनुभव बताउने उनी भन्छिन्, “ओलम्पिक सहभागिता आफैमा सफलता हो। मैले धेरै कुरा पाइसकेको छु। ब्यक्तिगत रुपमा केही गर्न सके त्यो सुनमा सुगन्ध हुनेछ।“

आफ्नो प्रदर्शन प्रति उनी गम्भिर पनि छिन्।

खेल अघि उनले दिनको दुई समय अभ्यास गर्ने गरेकी छिन्। प्रतियोगिता हुने एक्वेटिक सेन्टरमै उनीहरुलाई अभ्यास गराउन आयोजक समितीले ब्यवस्था समेतगरेको थियो।

आफैसंग प्रतिस्पर्धा

१०० मिटर फ्रि स्टाइलमा सहभागी हुने झन्डै ३ दर्जन विश्वका राम्रा खेलाडीहरुको छनोट चरणको समय हेर्ने हो भने श्रेयाको स्थान अन्तिमबाट तेस्रोमा पर्छ।

तर उनी आफूलाई खेलाडीसंग कुनै सरोकार नभएको बताउंछिन्। उनको प्रतिस्पर्धा आफै संग मात्र हुनेछ।

१०० मिटर फ्रिस्टाइलमा नेपालको राष्ट्रिय कीर्तिमन १ मिनेट १० दशमलव ८२ सेकेन्डको छ, जुन उनी आफैले सन् २०११ जुलाईमा चीनको सांघाईमा भएको १४ औं फिना विश्व पौडी च्याम्पियनसिपको बेला बनाएकी थिइन्।

सांघाईको यहि प्रतियोगितामा उनी १५० स्थान भित्र छिर्न सफल भएकोले लन्डन ओलम्पिकको लागि छानिएकी हुन्।

श्रेया धिताललाई हौस्याउन नेपालबाट उनको बुबा मुमा र बहिनी पनि लन्डन पुगेका छन्। काठमाण्डूको लिंकन स्कुलकी छात्रा श्रेया आफ्नो सफलतको लागि अभिभावक नै प्रेरणाको स्रोत भएको बताउंछिन्। त्यसैले परिवारको यो साथबाट उनी थप खुशि छिन् ।

५० मिटर बटरफ्लाई स्ट्रोक विधाको प्रतियोगितामा ३४ दशमलव ७५ सेकेन्डको कीर्तिमान सहित छैठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ८ स्वर्ण पदक जीतेकी श्रेया धितालले लण्डनको स्थानीय समयअनुसार विहानको १० वजे हिट वानमा प्रतिस्पर्धा गर्दैछिन्।