लण्डन प्रदर्शनबाट प्रसिद्ध असन्तुष्ट

  • 2 अगस्ट 2012
प्रसिद्धजंग शाह
Image caption प्रसिद्धजंग शाहले बिहीबार भएको प्रतिस्पर्द्धामा आफ्नो यसअघिको समयमा सुधार गरेका छन्

दोश्रो पटक ओलिम्पिकमा खेलिरहेका नेपाली पौडी खेलाडी प्रसिद्धजंग शाहले बिहीबार ओलिम्पिक एक्वेटिक सेन्टरमा भएको प्रतिस्पर्द्धामा आफ्नो यसअघिको समयमा सुधार गरेका छन्।

प्रतियोगिताको सातौं दिन बिहीबार बिहान भएको ५० मिटर फ्रि स्टाइलको दूरी प्रसिद्धले २६.९३ सेकेण्डमा पार गरे, जुन उनको पछिल्लो २७.०४ सेकेण्ड भन्दा सुधार हो।

यद्यपि उनी आफ्नो प्रदर्शनबाट खुसी थिएनन्।

उनले भने, "२६ सेकेण्डभन्दा मुनिमा आउने मेरो लक्ष्य थियो, त्यो पुरा भएन। बीचमा घाइते भएकोले पनि होला, तर सकिनं। सबैलाई ढांटेको जस्तो लागिरहेको छ।"

ओलिम्पिकको तयारीका लागि प्रसिद्धसहित चारजना नेपाली खेलाडीहरु एक महिना अगाडि नै लण्डन आएका थिए।

तर कांधमा चोट लागेपछि उनी दुई हप्ता अभ्यास गर्न असमर्थ भएका थिए।

५० मिटर फ्रि स्टाइलको राष्ट्रिय कीर्तिमान चित्रबहादुर गुरुङको नाममा छ। उनको समय २६.३९ सेकेण्डको हो।

५८ खेलाडीहरुले भाग लिएको प्रतिस्पर्द्धामा ४७ औं स्थानमा आउन सकेका प्रसिद्धले दशजना खेलाडीहरुलाई पछाडि पारेका थिए।

गुनासो

लण्डन ओलिम्पिकको उद्घाटन समारोहमा नेपालको झण्डा बोक्न पाउंदा निकै खुसी भएको बताउने प्रसिद्धसंग बिहीबारको नतिजा पछि गुनासो बढी थियो।

उनले विश्व खेल रङ्गमन्चमा नेपालले धेरै कुरा गर्न बांकी रहेको बताए।

उनले भने, "विश्व पौडी प्रतियोगिता हाम्रो लागि सपना जस्तै हो। तर सुविधा दिए हामी पनि कम छैनौं। मलाई विश्वास छ, हिटिङ पुलको व्यवस्था सहितको प्रशिक्षण पाए दुई, चार वर्षमै हामीले नतिजा दिन सक्छौं।"

तीनवटा फिना विश्व च्याम्पियनसिप सहित दुई ओलिम्पिकमा खेल्ने प्रसिद्ध नेपालका एक्ला खेलाडी हुन्।

उनकी सहकर्मी श्रेया धितालले भने बुधबार राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

शुक्रबार एथलेटिक्समा नेपालकी प्रमिला रिजालले प्रतिस्पर्द्धा गर्दैछिन्।