प्रमिलाले पुरा गरिन् दौड

  • 3 अगस्ट 2012
  प्रमिला रिजाल (दायां)
Image caption ढाडको समस्या हुंदाहुंदै पनि प्रमिला रिजालले १०० मिटर दौड पुरा गरेकी छिन् ।

विश्व खेलकुदको ठूलो मेलामा अन्य राष्ट्रका खेलाडीहरु ठूलो लक्ष्यका साथ मैदानमा उत्रिरहेको बेला प्रमिला रिजाल भने खेल्न सक्ने नसक्ने दोधारमा थिइन् ।

नेपाली खेलकुद टोलीका चिकित्सक रंजित बरालका अनुसार उनी खेल्न सक्ने अवस्थामा थिइनन् ।

ढाडको समस्याको कारण निहुरिन नहुने भएको थियो तर आयोजककै मेडिकल टिमले गरेको उपचार पछि उनी खेल्न सक्ने अवस्था सम्म आएकी थिइन् ।

ओलिम्पिक रंगशालामा शुक्रबार बिहान भएको प्रारम्भिक चरणको खेलमा उनले सो दौड १३.३३ सेकेन्डमा पुरा गरिन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको १०० मिटरमा पहिलो पटक दौडेकी प्रमिलाले आफनो हिटका तीन खेलाडीलाई पछि पारिन् ।

उनले भनिन्, “ओलिम्पिक जस्तो प्रतिस्पर्धामा खेल्न नपाउला भन्ने चिन्ता लागेको थियो । खेल्न सकियो । डाक्टरले शुरुमा खेल्न सक्दैनौ भनेका थिए तर मैले मानिनं ।”

कीर्तिमान

राष्ट्रिय प्रतियोगिताको छोटो दूरीमा चार स्वर्ण जितेकी प्रमिलाले चोट नलागेको भए राष्टिय कीर्तिमान बनाउने बताएकी थिइन्।

१२.०७ सेकेन्डको राष्ट्रिय कीर्तिमान चन्द्रकला थापाको नाममा छ ।

अहिलेको नतिजा उनको आफनै १३ सेकेन्ड पुरानो प्रदर्शन भन्दा बढी हो ।

प्रमिलाले दौडको लागि ‘वार्म अप’ गरिरहंदा उनकी प्रशिक्षक टिका सेढाईं भने आफ्नी चेलीले दौड पुरा नगर्लिन् कि भन्ने चिन्तामा थिइन् ।

उनले भनिन्, "उभिन निहुरिन नहुने भएको थियो । दुई हप्ता प्रशिक्षण गर्नै सकेन । दुई दिनमात्र भयो उसले प्रशिक्षण पुन: थालेको । मलाई उसले खेल पुरा गर्ला जस्तै लागेको थिएन । धन्न पुरा गरेछ ।"

इलाम चिसापानीकी २७ बर्षिया प्रमिला छोटो दूरीमा नेपालकै सबैभन्दा सफल खेलाडी हुन् ।

लण्डनमा अब नेपाली टोलीको अन्तिम खेल शनिबार छ ।

शनिबार तिलकराम थारुले पनि १०० मिटर दौडमा भाग लिनेछन् ।