नयां पार्टी गठनबारे जनजाति नेताहरु विभाजित

  • 8 अगस्ट 2012
जनजातीहरुको झपामा भएको भेला
Image caption केही नेताले बिहीबार काठमाण्डौमा पार्टी घोषणा गरिने बताएका छन् भने केहीले त्यसको विरोध गरेका छन्

अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसर पारेर बिहीबार नयां पार्टी गठन गर्ने तयारी भएको आदिवासी जनजाति महासंघका अध्यक्ष लगायत केही नेताले बताएका छन्।

तर नयां आदिवासी जनजाति पार्टी गठन गर्ने विषयमा नेपाल आदिवासी जनजाति महासंघका नेतृत्व नै विभाजित देखिएको छ।

राजकुमार लेखी लगायत केही नेता बिहीबार राजधानी काठमाण्डौमा नयां पार्टी घोषणा गर्ने पक्षमा छन् भने महासचिव आङकाजी शेर्पा लगायत केही नेताले चाहिं तत्काल पार्टी घोषणा गर्न नहुने बताएका छन्।

भेला

पूर्वका विभिन्न ठाउँबाट आदिवासी जनजाति समुदायका मानिसहरु आ आफ्ना भेष भूषा तथा बाजा गाजा सहित बुधवार विर्तामोडमा भेला भएका थिए।

आदिवासी जनजाति समुदायको मागका विषयमा ठूला राजनीतिक दल उदासीन बनेको भन्दै महासंघका अध्यक्ष राजकुमार लेखीले बिहिबार काठमाण्डौमा आदिवासी जनजाति समुदायका लागि छुट्टै राजनीतिक दल घोषणा गर्ने बताए।

लेखीले भने, “बिहीबार हामी काठमाण्डौमा कार्यक्रम आयोजना गरी महत्वपूर्ण घोषणाहरु गर्दैछौं।"

तर अर्का आदिवासी जनजाति नेता आङकाजी शेर्पाले अहिले नै घोषणा संभव नभएको बताए।

उनले भने, “पार्टी खोल्ने मात्र भनेर हुँदैन। त्यसमा गम्भीर छलफल गर्नु पर्छ, पार्टीको घोषणापत्रमा छलफल गर्नुपर्छ।”

घोषणा

नयाँ पार्टी गठनका लागि सक्रिय आदिवासी जनजाति महासंघका एक जना नेता चैतन्य सुब्बाका अनुसार नयाँ पार्टीको नाम सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी हुनेछ।

उनले भने, “अन्य दलका जनजाति नेतालाई अलमल भएपनि आदिवासी जनजाति समुदायका लागि नयाँ पार्टी गठनको प्रक्रिया रोक्न सकिँदैन।”

झापाको विर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्न आएका अर्का जनजाति नेता नेकपा एमालेका उपाध्यक्ष अशोक राई पनि तत्काल पार्टी गठनको पक्षमा देखिएनन्।

राईले भने, “पार्टी खोल्ने कुरा रातारात गर्ने कुरा होइन।”

तर अध्यक्ष लेखीले असहमतिका बीच बिहीबार नयाँ पार्टी गठन भएरै छाड्ने बताए।

विश्व आदिवासी दिवसको पूर्वसन्ध्यामा शक्ति प्रदर्शनको नाम दिइएको नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको सभामा करीब तीस हजार मानिस उपस्थित रहेको आयोजकको दावी थियो।