'राजनीतिकरण' विरुद्ध आमरण अनशन

  • 13 अगस्ट 2012
शिक्षण अस्पताल
Image caption राजनीतिक हस्तक्षेपले शिक्षण अस्पताललाई धराशायी बनाएको डाक्टर केसीको भनाइ छ

देशमा संक्रमणकाल लम्बिदै जाँदा संवैधानिक हुन् वा शैक्षिक, स्वास्थ्य हुन वा आर्थिक निकाय, स्थानिय देखि केन्द्रसम्मै राजनीतिक हस्तक्षेपका कारण थुप्रै निकायहरु थिलोथिलो बनेका छन्।

धेरैलाई रुष्ट बनाएको त्यस्तो हस्तक्षेप रोक्न भने कुनै निकाय वा समुदायले प्रभावकारी प्रयास गरेको पाइन्न।

तर बेजोड इमान्दारीका लागि परिचित त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा कार्यरत प्राध्यापक डाक्टर गोविन्द केसी त्यस्तो हस्तक्षेप विरुद्ध खरो रुपमा पेश हुन थालेका छन्।

आफु कार्यरत संस्था राजनीतिक हस्तक्षेपबाट तहसनहस हुनबाट रोक्न भन्दै उनी दोस्रो पटक गरेको आमरण अनशनमा बसेका छन्।

‘धराशायी’

संस्थान अन्तर्गको शिक्षण अस्पतालको एउटा हलमा डाक्टर केसीले सोमबार दिउंसो दुई बजे देखि अनशन थालेका हुन्।

“यो इन्स्टीच्युट कुनै बेला एसियाकै उत्कृष्ट मध्येको एक थियो, तर राजनीतिक हस्तक्षेपका कारण यो पुरै धराशायी भएको छ।”

“राजनीतिक भागबण्डाका आधारमा नियुक्त भएका पदाधिकारीहरु आफ्नो राजनीतिक मालिकहरुप्रति मात्र इमान्दार हुने भएपछि यो संस्थाको प्रगति कसरी हु्न्छ?”

उनले विगतमा भ्रष्टाचारमा संलग्न पदाधिकारीहरुविरुद्ध पनि कानुनी कारवाही हुनु पर्ने अडान राखेका छन्।

नेपालकै पहिलो मेडिकल कलेज मानिने चिकित्सा शास्त्र अध्यन संस्थान स्थापना भएको तीन दशक नाघि सकेको छ।

सुधारको माग

राजनीतिक हस्तक्षेपको विरोध र भ्रष्टाचारीहरुमाथि कारवाहीको माग गर्दै डाक्टर केसी एक महिनाअघि पनि आमरण अनशनमा बसेका थिए।

तर त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले वरिष्ठताका आधारमा पदाधिकारी नियुक्ती गर्न बाटो खोलिदिएपछि उनले अनशन तोडेका थिए।

तर त्यतिबेला नियुक्त गरिएका चिकित्सा शास्त्र अध्यन संस्थानका डिनको पदावधी सकिनै लाग्दा फेरि दलीय भागबण्डाको प्रस्ताव आएपछि डाक्टर केसीले त्यसको खरो विरोध गर्दै फेरि आमरण अनशनको बाटो रोजेका हुन्।

प्रधानमन्त्रीले एक महिना अघि आश्वासन नदिएको बताउँदै डाक्टर केसीले भने, “त्यतिबेला उहाँ वाध्य हुनुभएको थियो, परिपाटि सुध्रिएको छैन, यो संस्थानलाई स्वायत्त बनाउनु पर्छ।”