सर्वोच्चद्वारा भ्रष्ट ठह-याइएका खुमबहादुरलाई डेढ वर्ष कैद

पछिल्लोपल्ट अपडेट गरिएको: 14.08.12, 23:07 NST सम्मका समाचार
नेपाली कांग्रेसको मूख्य कार्यालय

खड्काको मुद्धामा सर्वोच्चले फैसला सुनाउँदा अदालत बाहिर नेपाली कांग्रेसका नेता कार्यकर्ता उपस्थित थिए

सर्वोच्च अदालतले पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गरेको छ।

पटक पटक मन्त्री बनेका उनले पदीय दुरुपयोग गरि झण्डै एक करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले उनलाई डेढ वर्षको कैद सजाय सुनाएको छ।

सयौं शुभचिन्तक एवं नेपाली काँग्रेसका नेता कार्यकर्ता र बाक्लो सुरक्षा उपस्थितिले घेरिएको सर्वोच्च अदालतका दुईजना न्यायाधीशहरु कल्याण श्रेष्ठ र बैद्यनाथ उपाध्यायले सो निर्णय सुनाएका थिए।

यो फैसला अन्तिम भएकाले खड्का अब जेल जानु पर्नेछ।

फैसलापछि खड्काले बीबीसीसित भने, “म यसलाई मान्दिन र स्वीकार गर्दीन, यो पूर्वाग्रही भएर गरेको जस्तो लाग्छ मलाई।“

"यो सर्वोच्चको अन्तिम फैसला हो, यस उपर अब कानूनत: पुनरावेदनको अवस्था छैन।"

सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावल

तर उनले आफू जेल जान तयार रहेको बताए।

“कि त भाग्नु प-यो, कि त जेल जानु प-यो, म जेल जान तयार छु।“

‌२०४८ सालदेखि पटक पटक मन्त्री र सांसद बनेका पूर्व मन्त्री खड्काले ९४ लाख ७४ हजार रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको फैसलामामा उल्लेख छ।

तर उनले त्यो रकम र त्यति नै विगो सहित झण्डै दुई करोड रुपैयाँ बराबरको जरिवाना तिर्नुपर्ने छ भने डेढ वर्ष जेलमा बिताउनु पर्नेछ।

अब फैसला मान्नुको विकल्प खड्कासँग नभएको सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलले बताए।

'अन्तिम फैसला'

उनले भने, “यो सर्वोच्चको अन्तिम फैसला हो, यस उपर अब कानूनत: पुनरावेदनको अवस्था छैन।“

फैसलामा उल्लेख भए अनुसार २०४८ साल सम्म सामान्य हैसियत भएका खड्कासँग सांसद र मन्त्री हुनुअघि जम्मा १० विघा मात्र जग्गा थियो भने २०४८ सालमा पहिलो पटक मन्त्री भएपछि खड्काले सर्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग दुई लाख रुपैयाँ नगद, सात तोला सुन, एउटा पक्की घर लगायत सम्पत्ति मात्र थियो ।

गृह, जलस्रोत र भौतिक योजना तथा निर्माण जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्दा खड्काले अमिल्दो र अस्वभाविक ढंगले सम्पत्ति कमाएको फैसलामा उल्लेख छ।

"कि त भाग्नु प-यो, कि त जेल जानु प-यो, म जेल जान तयार छु।"

पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का

करिब साढे दुई करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्का विरुद्ध २०५९ सालमा मुद्दा दायर गरेको थियो।

तर विशेष अदालतले खड्काले १२ लाख रुपैयाँ मात्र हैसियत भन्दा बढी सम्पत्ति कमाएकाले त्यसलाई अस्वभाविक भन्न नमिल्ने ठहर गर्दै उनलाई सफाइ दिएको थियो।

तर मन्त्री भएपछि १२ वर्षको अवधीमा खड्काले काठमाण्डू, ललितपुर र भक्तपुरमा करिब ९२ लाख रुपैयाँ भन्दा बढिको घर जग्गा खरिद गरेको, सानेपाको घरमा करिब १४ लाख रुपैयाँ बराबरका विद्युतीय सामाग्री र फर्निचर जोडेको, छोरीलाई भारतमा चिकत्साशास्त्र अध्ययन गराउन सात लाख रुपैयाँ भन्दा बढी खर्च गरेको, दाङमा १५ लाख भन्दा बढी मूल्य पर्ने घर बनाएको, श्रीमतीका नाममा २५ लाख र छोरीका नाममा नौ लाख रुपैयाँ भन्दा बढी बैंकमा जम्मा गरेको ठहर सर्वोच्चले गरेको छ।

बिहानैदेखि सर्वोच्च परिसरमा जम्मा भएका खड्का समर्थकले फैसलापछि नारबाजी गर्दै केही सवारीमाथि आक्रामण गरेका थिए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।