पहिला नेपाली ओलिम्पिक खेलाडीको आँखामा लण्डन ओलिम्पिक्स

पछिल्लोपल्ट अपडेट गरिएको: 15.08.12, 21:31 NST सम्मका समाचार
नेपालका पहिला ओलिम्पिक खेलाडी भूपेन्द्र सिलावाल

जापानको टोक्योमा आयोजित एसियाली खेलमा सिलवालले नाङ्गो खुट्टा दौडनु परेको थियो

लण्डन ओलिम्पिक्स हेरेर फर्केका नेपालका पहिला ओलिम्पिक खेलाडी भूपेन्द्र सिलवाललाई यस भ्रमणबारे याद आइरहने कुराहरू मध्ये एक हो धावकहरुले लगाएका जुत्ता।

रंगशालामा म्याराथन र हर्डल दौड प्रतिस्पर्धाहरू हेर्दा ७८ बर्षिय सिलवालका आँखा तिनका जुत्तामा अड्किन पुगेको थियो।

सो दृश्यले उनलाई पु-याएको थियो झण्डै पच्पन्न वर्ष अघि, जब जापानको टोक्योमा आयोजित एसियाली खेलमा उनले नाङ्गो खुट्टा दौडनु परेको थियो।

बयालीस किलोमिटर लामो सो म्याराथन दौड सक्काउँदा, उनको पाइताला भरि अलकत्रा टाँसिएको थियो।

“सियो प्रयोग गरी अलकत्रा निकाल्न खोज्दा छाला उप्केर रगत नै निस्केको थियो,” सिलवालले बीबीसीसित कुरा गर्दै भने।

त्यसरी नाङ्गो खुट्टा दौडँदा पनि उनी साठीजनामा सातौं आएका थिए।

जुत्ताको कथा

“यहाँ (लण्डन ओलिम्पिक्समा) धावकहरूले लगाएका जस्तो जुत्ता त्यस बेला पाएको भए त शायद पहिलो नै हुन्थे होला,” एक प्रकारको आत्मविश्वास देखाउँदै उनले भने।

नाङ्गो खुट्टा दौडदा, टोक्योको सडकको छेउमा उभिएका दर्शकहरूले उनको खुट्टामा पानी खनाइदिएका थिए।

तर त्यस्तो स्याहार र माया आफ्नै अधिकारीहरूबाट नपाएकाले त्यसरी नाङ्गो खुट्टा दौडनु परेको उनको गुनासो छ।

“काठमाण्डूबाट हामीलाई लग्ने बेलादेखि नै दौडँदा लगाइने जुत्ता त किन्देलान् नी भन्ने आशा थियो, त्यही भएर मैले एक जोर छालाको जुत्ता लगाएर मात्र गएको थिएँ,” त्यसबेला सेनामा जागीर खाएका उनले आफ्नो अनुभव सुनाउँदै भने।

“तर रंगशालामा दौडने बेला भइसक्यो, जुत्ता चाहीं आएन।”

“हाम्रो नेपाली टोलीको नेतृत्व गरेका सेनाको एक जर्णेलले मलाई र म संगै गएका एक अर्का धावकलाई नाङ्गै खुट्टा दौडन आदेश दिए, मान्नै प-यो।”

छ वर्षपछि टोक्यो मै नेपालले पहिलो पटक ओलिम्पिक्समा भाग लिंदा चाहीं सिलवालले एक जोर नयाँ जुत्ता पाएका थिए।

‌“निकै हल्का र नरम जुत्ता थियो त्यो, तर लण्डन ओलिम्पिक्समा धावकहरूले लाएका जस्तो राम्रो चाहीं होइन।“

यहाँ सम्पन्न ओलिम्पिक्समा गरिएका बन्दोबस्ती र सुविधाहरू देखेका सिलवाललाई लाग्छ, यो खेलाडीहरूका लागि स्वर्णीम युग हो।

"खेलाडीहरू सम्मानका हकदार हुन्छन् र त्यो कुरा मैले मलाई नाङ्गो खुट्टा दौडाइएको ५५ वर्षपछि यहाँ आएर देख्‍न पाएँ।"

नेपालका पहिला ओलिम्पिक खेलाडी भूपेन्द्र सिलवाल

“खेलाडीहरूका लागि यत्रो इज्जत र सम्मान देखेर म खुशीले गदगद भएँ।

“म अहिले खेलाडी हुन पाएको भए कति राम्रो हुन्थ्यो होला भन्ने लाग्यो।“

धावकका रूपमा सिलवालको जीवन उनी ललितपुरको गोदावरीस्थित आफ्नो गाउँमा बाल्यकालमा गोठाला जाँदाखेरी देखि नै शुरू भएको थियो।

“उस बेला हामी केटाहरू मिलेर दौडन्थ्यौं र म जहिले पनि पहिलो आउँथे।“

उनको दौडन सक्ने क्षमताले गर्दा उनी टोक्यो ओलिम्पिक्सका लागि छानिएका थिए।

तर त्यसपछि भने नेपालको खेल जगतबाट उनको नाम हराउँदै गयो।

“दौडन मन लाग्न छोड्यो, देशका लागि त्यत्रो गर्दा पनि केही पाइन।

“आफ्नो रगत निल्न परिन्जेल परिश्रम गरेर दौडँदा जुत्ता जस्तो आधारभूत कुरा पनि पाइन, ट्रयाक सूटसम्म पनि किन्दिएनन्,” निकै निराश स्वरमा उनी भन्छन्।

‌लण्डन ओलिम्पिक्स शुरू हुनुअघि बीबीसी नेपाली सेवाले उनीसित अन्तरवार्ता लिएपछि उनी फेरि चर्चामा आएका थिए।

गैर आवासीय नेपाली संघ यूकेको सहयोगमा लण्डन आएका सिलवाल अहिले पनि नेपाली खेलकुदको अवस्थामा खासै परिवर्तन नआएको बताउँछन्।

“हामीले खेलाडीहरूसित कसरी व्यवहार गर्नुपर्छ भन्ने सन्देश लण्डन ओलिम्पिक्सबाट लिनुपर्छ,” टोक्यो ओलिम्पिक्सपछि पहिलो पटक विदेश भ्रमणमा लण्डन आएका उनले भने।

“खेलाडीहरू सम्मानका हकदार हुन्छन् र त्यो कुरा मैले मलाई नाङ्गो खुट्टा दौडाइएको ५५ वर्षपछि लण्डन आएर देख्‍न पाएँ।“

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।