सहमतिको प्रक्रिया पहिल्याउन राष्ट्रपतिको आग्रह

पछिल्लोपल्ट अपडेट गरिएको: 30.08.12, 20:31 NST सम्मका समाचार
राष्ट्रपति निवास

संविधान जारी गर्ने प्रक्रियाका बारेमा राष्ट्रपतिले चासो ब्यक्त गरे

राष्ट्रपति रामबरण यादवले आफ्नै निवासमा बोलाएर अबको राजनीतिक निकासको प्रक्रियामा स्पष्ट हुन दलहरुलाई फेरि आग्रह गरेका छन्।

राजनीतिक गन्तब्य र प्रक्रियामा कुरा मिलेपछि मात्र अन्य मुद्दामा सहमति जुटाउन सजिलो हुन सक्ने धारणा राष्ट्रपतिले राखेको बताइएको छ।

संविधानसभा विघटन भएको ठीक तीन महिना पुगेकै दिन बिहीबार राष्ट्रपति रामवरण यादव र चार प्रमुख दलका शीर्ष नेताहरुबीच गत जेठ १४ पछि उत्पन्न राजनीतिक र संवैधानिक गतिरोध अन्त्यको उपयुक्त निकासका बारेमा, नेताहरुकै शब्दमा “सार्थक” छलफल भएको थियो।

छलफलका क्रममा केहिले संविधानसभा पुनर्स्थापना र केहीले नयाँ निर्वाचनमा जानु पर्ने बताएका थिए।

"खासगरी मुलुकको राजनीतिक गन्तब्य के हो र त्यो गन्तब्यमा पुग्ने प्रक्रिया के हो त्यसमा सहमति गर्न राष्ट्रपतिले आग्रह गर्नुभयो"

राजेन्द्र दाहाल, राष्ट्रपतिका प्रेस सल्लाहकार

त्यसपछि राष्ट्रपतिले नेताहरुलाई पहिले भावी गन्तब्य र त्यसको प्रकियामा सहमत हुन भनेका थिए।

चासो

त्यस्तो संवादको अंश सुनाउँदै राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, “खासगरी मुलुकको राजनीतिक गन्तब्य के हो र त्यो गन्तब्यमा पुग्ने प्रक्रिया के हो त्यसमा सहमति गर्न राष्ट्रपतिले आग्रह गर्नुभयो।”

राष्ट्रपतिको मुख्य चासो अव कुन प्रक्रियाबाट संविधान जारी गर्न सकिन्छ भन्ने पनि थियो।

बैठकपछि कार्यवाहक प्रधानमन्त्री समेत रहेका मधेशी मोर्चका नेता बिजयकुमार गच्छदारले भने, “संविधानसभा पुनर्स्थापना गरेर संविधान जारी गर्ने कि नयाँ चुनावमा जाने भन्नेमा स्पष्ट हुन पनि उहाँले आग्रह गर्नुभयो।”

"संविधानसभा पुनर्स्थापना गरेर संबिधान जारी गर्ने कि नयाँ चुनावमा जाने भन्नेमा स्पष्ट हुन पनि उहाँले आग्रह गर्नुभयो"

बिजयकुमार गच्छदार, नेता, मधेशी मोर्चा

छलफलमा सहभागी नेताहरुका अनुसार सरकारले सिफारिस गरेका निर्वाचनसँग सम्बन्धित दुई अध्यादेश जारी गर्नुको सान्दर्भिकता नदेखिएको बताइसकेका राष्ट्रपति यादव त्यसो भन्दाभन्दै सरकारले पछिल्लो पटक सिफारिस गरेका थप चार अध्यादेशप्रति पनि असन्तुष्ट देखिएका थिए।

संविधानसभा विघटनपछि राष्ट्रपतिसँग भएका यस अघिका छलफलहरुपछि सहमति जुटाउने भन्दै बाहिरिदै गरेका तर त्यस्तो वाचा पुरा गर्न नसकेका दलहरु बिहीबारको बैठक पछि पनि छिट्टै सहमति जुटाउँछौं भन्दै बाहिरिएका थिए।

तर उनीहरुबीच सजिलै सहमति जुट्नेमा आशंकाहरु चाहिं कायमै छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।