संविधानका विवादित विषयमा फेरि छलफल शुरु

पछिल्लोपल्ट अपडेट गरिएको: 31.08.12, 20:23 NST सम्मका समाचार

यस अघि भएका बैठक संविधानका विवादित विषयमा सहमति जुटाउन असफल भएका थिए

भावी राजनीतिको गन्तब्य र प्रक्रिया पहिल्याउन राष्ट्रपति रामवरण यादवले सुझाव दिएको भोलीपल्टै बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक त्यस्तो प्रक्रिया भन्दा पनि यस अघि संविधान निर्माणमा देखिएका विवादित बिषयमा केन्द्रित भएको छ।

शुक्रबार बिहान नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको डल्लुस्थित निवासमा बसेको बैठकमा शासकीय स्वरुप र संघीयता लगायतका मुद्दामा प्रारम्भिक छलफल भएको नेताहरुले बताएका छन्।

शनिबार हुने बैठकमा सबै दलले आ आफ्ना एजेण्डा पेश गर्ने कार्यक्रम छ।

प्रस्थान बिन्दु

"संविधानमा सहमति जुटाउन सकिन्छ कि सकिदैन, अनि राष्ट्रिय सहमतिको सरकारको विषयमा कुरा मिल्छ कि मिल्दैन, यी विषयमा सहमति जुटेपछि मात्र संविधानसभा पुनर्स्थापना कि नयाँ चुनाव भन्ने कुरा आउँछन्"

रामचन्द्र पौडेल, नेता, नेपाली कँग्रेस

जे कारणले संविधानसभा विघटन भएको थियो तीन महिना पछि दलहरुले संविधानका तिनै विवादित विषयलाई पुन एकपटक छलफलको प्रस्थान बिन्दु बनाएका हुन्।

यसबीचमा विपक्षी दलहरुले सरकारको राजीनामालाई मुख्य एजेण्डा बनाएका थिए भने सत्ता गठबन्धनमा सहभागी दलहरुले सबै कुराको प्याकेजमा सहमति हुनु पर्ने अडान राख्दै आएका थिए।

दलहरुको शुक्रबार बसेको बैठक संविधानसभा पुनर्स्थापना कि नयाँ चुनावमा जाने भन्ने बिषयमा केन्द्रित हुने अनुमान लगाइएको थियो।

राष्ट्रपति रामवरण यादवले बिहीबार मात्रै सबैभन्दा पहिला गतिरोधको गन्तब्य पहिल्याउन दलहरुलाई सुझाव दिएका थिए।

तर नेताहरुले त्यो भन्दा पहिले गएको जेठ १४ अघि संविधान निर्माणमा देखिएका विवादित विषयको समाधान गर्नुपर्नेमा जोड दिंदै छलफललाई अघि बढाएका थिए।

बैठकमा संघीयता, शासकिय स्वरुप र प्रदेशको संख्याबारे छलफल भएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताए।

नेता पौडेलका अनुसार संविधानका विवादित मुद्दासँगै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयलाई पनि सँगसँगै हल गर्ने र त्यसपछि मात्रै संविधानसभा पुनर्स्थापना कि नयाँ चुनाव भन्ने बिषयले प्रवेश पाउनेछ ।

उनले भने, “संविधानमा सहमति जुटाउन सकिन्छ कि सकिदैन, अनि राष्ट्रिय सहमतिको सरकारको विषयमा कुरा मिल्छ कि मिल्दैन, यी विषयमा सहमति जुटेपछि मात्र संविधानसभा पुनर्स्थापना कि नयाँ चुनाव भन्ने कुरा आउँछन्।”

धारणा

"भोलीको बैठकमा सबै दलले आ आफ्ना बिचार राखेपछि छलफल बिस्तृत रुपमा अघि बढ्छ"

अग्नि सापकोटा, नेता, एकीकृत माओवादि

संविधानसभा पुनर्स्थापना वा नयाँ निर्वाचन भन्ने बारेमा दलहरुका फरक फरक विचार यथावत रहेको एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले बताए।

उनले शनिबार बिहान एमाले अध्यक्ष खनालकै निवासमा तय भएको बैठकमा सबै दलले आ आफ्ना धारणा पेश गरेपछि छलफल विस्तृत रुपमा अघि बढ्ने पनि बताए।

सापकोटाले भने, “भोलीको बैठकमा सबै दलले आ आफ्ना बिचार राखेपछि छलफल विस्तृत रुपमा अघि बढ्छ।”

संघीयता लगायत संविधानका मुख्य विषयमा सहमति हुन नसक्दा संविधानसभा नै विघटन भएको थियो भने दलहरुबीचका मतभिन्नता पनि गहिरिएका थिए।

चार, चार बर्ष सम्मको प्रयासपछि पनि मिल्न नसकेका विवादित विषयलाई दलहरुले कसरी र अब कति दिन भित्र पार लगाउलान् भन्ने प्रश्नहरु चाहिं स्वाभाविक रुपमै टड्कारो देखिन्छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।