‘वार्ता सहमतितर्फ अग्रसर’

पछिल्लोपल्ट अपडेट गरिएको: 05.09.12, 19:59 NST सम्मका समाचार
All party meeting in Hattiban

प्रमुख तीन दल सहमति जुटाउन विफल भए पनि वार्ता सहमतितिर आग्रसर भएको बताइएको छ।

तीन प्रमुख दलले गत साता वाचा गरे अनुसार सात दिनभित्र एउटा सहमति जुटाउन विफल भएका छन्।

तर पनि एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति सुशील कोईरालाबीच बुधबार भएको वार्ता सहमति उन्मुख भएको उनीहरुले बताएका छन्।

नेताहरु जसरी भए पनि भदौ मसान्त भित्र सहमति जुटाएर देशलाई निकास दिनु पर्नेमा एकमत रहेको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए।

दुबै नेताहरुबीच लगभग एक घण्टा लामो छलफल भएको थियो।

सरकार

कांग्रेस सभापति कोइरालाले सरकारको विषयलाई पहिले टुङ्ग्याउनु पर्नेमा जोड दिए पनि त्यसलाई अडानकै रुपमा भने प्रस्तुत नगरेको एक माओवादी नेताले बताए।

प्रचण्डसंगको भेटपछि संचारकर्मीहरुसंग कुरा गर्दै उनले सहमति जुटाउने प्रकृया र संघीयताबारे छलफल भएको उल्लेख गरे।

कोईरालाले भने, “राष्ट्रिय सहमतिको सरकार बनेपछि एउटा वातावरण बन्छ र कसरी संघीयताबारे सहमति जुटाउने भन्ने छलफल भयो।”

माओवादी प्रवक्ता अग्नि सापकोटाले सभापति कोईराला लचिलोरुपमा प्रस्तुत भएको संकेत गरे।

सापकोटाले भने, “पहिलो जस्तो सरकारको नेतृत्व भन्दा पनि प्याकेजमै सहमति जुटाउने कुरा भएको छ।”

"भदौभित्र सहमति जुट्छ जस्तो लाग्छ"

अग्नि सापकोटा, एकीकृत माओवादी प्रवक्ता

सरकारको नेतृत्व र संघीयताको प्रारुप दलहरुबीच सबैभन्दा बढी विवादित विषय हुन्।

संघीयता

हालै माओवादी अध्यक्ष प्रचण्डले आफुहरु पनि बहुलजातीय संघियताको पक्षमा रहेको बताएपछि कांग्रेस तथा एमालेका नेताहरुले सो अभिव्यक्तिले सहमतिको संभावनालाई थप आधार दिएको बताएका छन्।

तर माओवादी नेता सापकोटाले प्रचण्डले दिएको अभिव्यक्ति पार्टीको पुरानै नीति भएको बताए।

गत बुधबारदेखि शुरु भएको दलहरुबीचको सहमतिको नया यात्राले एक साताभित्रै एउटा ठोस निस्कर्ष दिने नेताहरुले आशा गरेका थिए।

माओवादी प्रवक्ता सापकोटाले एमाले अध्यक्ष झलनाथ खनालको अस्वस्थता र कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकका कारण सहमति जुटाउनमा केही ढिलाई भएको स्विकार गरे।

तर उनले मदौ मसान्तसम्म सहमति जुट्ने तर्फ नै नेताहरु अग्रसर भएको उल्लेख गरे।

सापकोटाले भने, “भदौ भित्र सहमति जुट्छ जस्तो लाग्छ।”

छिमेकी

एकीकृत माओवादीका नेताहरुको संघीयताबारे बदलिंदो अभिव्यक्ति र कांग्रेस, एमालेमा आफनो अडानमा देखिएको लचिलोपनाले सहमतिको आशा भने फेरि जगाएको छ।

तर कतिपयको बुझाइमा वार्तामा भएको भनिएको सकारात्मक प्रगतिको कारण आन्तरिक भन्दा पनि बढी बाहिरी रहेको छ।

गत साता भारतीय राजदूत जयन्त प्रसादले नेपालमा संघीयताको आधार जातीय भन्दा पनि आर्थिक हुनु पर्ने बताएका थिए।

केही समयअघि चिनियाँ नेताहरुले पनि जातीय संघीयता विरुद्धको अभिव्यक्ति दिएको पत्र पत्रिकामा छापिएको थियो।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।