प्रहरी प्रमुख नियुक्तिमा ढिलाइ

पछिल्लोपल्ट अपडेट गरिएको: 08.09.12, 21:13 NST सम्मका समाचार

नेपाल प्रहरीको प्रमुख नियुक्त गर्न सरकारलाई कठीन भइरहेको देखिन्छ

नेपाल प्रहरीका प्रमुखले अनिवार्य अवकास पाउन एक हप्ता जति मात्र बाँकी हुँदा समेत सरकारले नयाँ नियुक्ति गर्न सकेको छैन।

सत्तारुढ गठबन्धनमा फरक दलका प्रधानमन्त्री र गृहमन्त्री रहेको र उनीहरुबीचको मतभेदका कारण प्रहरी प्रमुख नियुक्त हुन नसकेको समाचार विभिन्न सन्चारमाध्यममा प्रकाशित हुँदै आएका छन्।

सुरक्षा निकायको महत्वपूर्ण पदमा अन्तिम घडीसम्म नियुक्तिको टुंगो नहुनुले प्रहरी संरचना र समग्र सुरक्षा व्यवस्थामा नकारात्मक असर पर्ने जानकारहरुले बताएका छन्।

नेपाल प्रहरीका महानिरीक्षक रविन्द्र प्रताप शाहले भदौ अन्तिमदेखि अनिवार्य अवकास पाउँदैछन्।

मुश्कील

तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक मध्येबाट एकजना नियुक्त गर्न सरकारलाई मुश्किल परिरहेको देखिन्छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, "बरिष्ठता र दक्षताका आधारमा सरकारले समयमै निर्णय लिनेछ।"

"बरिष्ठता र दक्षताका आधारमा सरकारले समयमै निर्णय लिनेछ"

देवेन्द्र पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

सुरक्षा निकायमा सामान्यत एउटा प्रमुखले अवकास पाउनु एक महिनाअघि नै अर्कोलाई कार्यभार सुम्पिने परम्परा रहँदै आएको छ।

प्रचलन

अवकास पाउने प्रमुखले एक महिना अघिदेखि घरबिदा बस्ने प्रचलन पनि छ।

सुरक्षा निकायको महत्वपूर्ण नियुक्तिमा भैरहेको यस्तो ढिलाइले पार्ने असरबारे पूर्व गृहसचिव भोजराज पोखरेलले भने, "प्रहरी प्रमुख समयमा चुन्न नसक्दा अन्यौल हुन्छ र अन्यौलले अराजकता तर्फ लग्छ जसले अन्तत: सुरक्षा स्थितिमा शिथिलता ल्याउँछ।"

"प्रहरी प्रमुख समयमा चुन्न नसक्दा अन्यौल हुन्छ र अन्यौलले अराजकता तर्फ लग्छ जसले अन्तत: सुरक्षा स्थितिमा शिथिलता ल्याउँछ"

भोजराज पोखरेल, पूर्व गृहसचिव

खासगरी २०४६ सालको जनआन्दोलन यता प्रहरी संरचनामा राजनीतिक चलखेल बढेको भन्दै प्रहरीहरु असन्तुष्टी व्यक्त गर्छन् ।

चिन्ता

अन्तिम अवस्थासम्म पनि नियुक्ति गर्न नसकिएको अवस्थाप्रति नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्र बहादुर सिंहले चिन्ता व्यक्त गरे।

उनले भने, "महानिरीक्षक समेत समयमा चुन्न नसक्नु यो भन्दा लाजमर्दो स्थिति अरु के हुन सक्छ?"

नयाँ महानिरीक्षक तीनजना अतिरिक्त महानिरीक्षकहरु कुबेरसिंह राना, नवराज ढकाल र भीष्म प्रसाईबाट चुन्नुपर्नेछ।

ती मध्ये कुबेरसिंह राना बरियताक्रममा एक नम्बरमा रहेका बताइन्छ ।

चेन अफ कमाण्डमा चल्ने सुरक्षा निकायहरुमा सामान्यत बरिष्ठतामा एक नम्बरमा रहेका व्यक्तिलाई नै नियुक्ति गर्ने प्रचलन रहेको बताइन्छ।

सरकारले केही समयअघि मात्र सेनामा एक नम्बर बरियतामा रहेका गौरब समशेर राणालाई सैन्य प्रमुख बनाएको थियो।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।