नेकपा माओवादीद्वारा ७० सूत्रीय मागपत्र प्रस्तुत

पछिल्लोपल्ट अपडेट गरिएको: 10.09.12, 21:25 NST सम्मका समाचार
वैद्य पक्षिय भेला

प्रचण्ड पक्षसंग गम्भीर असन्तुष्टि राख्दै वैद्य पक्षले हालै अलग पार्टी खोलेको थियो

राष्ट्रियता, वर्तमान राजनीति र जनजीविकाका समस्याहरुप्रति ध्यानाकर्षण गराउँदै मोहन वैद्य नेतृत्को नेकपा-माओवादीले प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष सोमबार ७० सूत्रीय मागहरु बुझाएको छ।

अधिकांश मागहरु १७ वर्षअघि माओवादीले सशस्त्र विद्रोह थाल्नुअघि बाबुराम भट्टराई आफैले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबासमक्ष बुझाएका बुँदाहरुसंग मिल्दोजुल्दो छन्।

आफ्ना माग पुरा नभए सडक आन्दोलन थाल्ने चेतावनी माओवादीले दिएको छ।

एकीकृत माओवादीबाट हालै अलग भएको नेकपा-माओवादीका नेताहरुको एक समूहले सोमबार प्रधानमन्त्री भट्टराईलाई भेटेर सो मागपत्र बुझाएको हो।

‘विडम्बना’

मागपत्र बुझाउँदै नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले १७ वर्षअघि बाबुराम भट्टराईले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबालाई ४० सूत्रीय मागहरु बुझाएको स्मरण गराएको बताए।

“हामीले उहाँलाई सत्र वर्षपछि फेरि ३० वटा माग थपेर मागपत्र प्रस्तुत गर्न आएका छौ। यो विडम्बना हो भन्यौ।”

"हामीले उहाँलाई सत्र वर्षपछि फेरि ३० वटा माग थपेर मागपत्र प्रस्तुत गर्न आएका छौ। यो विडम्बना हो भन्यौ"

सीपी गजुरेल, उपाध्यक्ष, नेकपा-माओवादी

गजुरेलका अनुसार प्रधानमन्त्रीले ती मागहरु पुरा गर्न सरकारले सक्दो गर्ने आश्वासन दिएका थिए।

प्रधानमन्त्रीको दल एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले मोहन वैद्य नेतृत्वको पार्टीको प्रधानमन्त्री भट्टराईलाई मागपत्र बुझाउने कदमको कडा आलोचना गरे।

“सहमतिको संभावना देखा परेको बेला उहाँहरुले बुँदा थपेर इतिहासलाई पछाडी फर्काउने दुश्प्रयास गर्नु भएको छ तर इतिहास फर्किदैन।”

"सहमतिको संभावना देखा परेको बेला उहाँहरुले बुँदा थपेर इतिहासलाई पछाडी फर्काउने दुश्प्रयास गर्नु भएको छ "

अग्नि सापकोटा, प्रवक्ता, एकीकृत माओवादी

१७ वर्षअघि आफ्ना मागहरु पुरा नभएको भन्दै तत्कालिन नेकपा माओवादीले २०५२ साल फाल्गुन १ देखि सशस्त्र विद्रोह थालेको थियो।

१० वर्षमा १५ हजार भन्दा बढी नेपालीको ज्यान गएपछि भएको विस्तृत शान्ति सम्झौताले संविधानसभाको चुनाव र गणतन्त्र स्थापनाको लागि बाटो खोल्यो।

‘सडक संघर्ष’

तर पाँच वर्षपछि संविधान निर्माण कार्य अपुरै रहेर संविधानसभा भङ्ग भएपछि चुलिएका संकटकामाझ अहिले देशको सर्वभौमसत्ता समेत गम्भीर संकटमा परेको ठहर सोमबार मागपत्र बुझाएको नेकपा-माओवादीले गरेको छ।

१७ वर्षअघि आफ्ना ४० सूत्रीय माग पुरा नभएको भन्दै तत्कालिन नेकपा माओवादी सशस्त्र विद्रोहमा होमिएको थियो।

यसपटक पनि आफ्ना माग पुरा नभए एकीकृत माओवादीबाट टुक्रिएको नेकपा-माओवादीले पुन: सशस्त्र विद्रोहको बाटो समात्ने हो कि भन्ने आशंकाहरु कायमै छन्।

तर सीपी गजुरेलले माग पुरा नभए आफ्नो दलले सडक संघर्ष थाल्ने बताए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।