कर्णाली राजमार्गमा 'सवारी स्वीकृती दिन बाँकी'

पछिल्लोपल्ट अपडेट गरिएको: 11.09.12, 21:17 NST सम्मका समाचार
Kalikot BuS accident

कालीकोटमा फेरि बस दुर्घटना हुनुले सरकारको भुमिका माथि प्रश्न उठेको छ

कालीकोट जुम्ला सडक खण्डमा सोमबार राती भएको दुर्घटनामा ज्यान गुमाएका २८ मध्य चारजना बाहेक सबैको सनाखत भइसकेको छ।

‌अधिकांश मृतकहरु कालीकोट जुम्ला र मुगुका रहेका छन्।

यो सडक खण्डमा हालसम्म सयौ गाडिहरुको दुर्घटना भइसकेका छन् ।

जसमा १ सय ५० भन्दा बढि मानिसहरुको ज्यान गैसकेको अधिकारीहरुले बताएका छन ।

कर्णालीको भाग्यरेखा बदलिने सपना बोकेको राजमार्ग मृत्युमार्ग बन्न पुगेको भन्दै स्थानिय बासिन्दाले निराशा व्यक्त गरेका छन्।

कालीकोटका एकजना स्थानिय बासीन्दा तथा पत्रकार तुलाराम पाण्डेले भने, “आफन्त गुमाउनु पर्ने̦ अंगभंग भएर बस्नुपर्ने अवस्था छ, कर्णालीबासिलाइ सुविधा भन्दा बढी पिडा र सास्ती थपेको छ।”

२०६३ सालको अन्तिम दिन सन्चालनमा आएको यो सडक खण्डको धेरै भाग हालसम्ममा कच्चीट्राकको अवस्थामा मात्र रहेको छ ।

"आफन्त गुमाउनु पर्ने̦, अंगभंग भएर बस्नुपर्ने अवस्था छ, कर्णालीबासीलाइ यो सडकले सुविधा भन्दा बढी पीडा र सास्ती थपेको छ"

तुलाराम पाण्डे, कालीकोटका एकजना स्थानीय बासीन्दा तथा पत्रकार

सडकको चौडाइ कम हुनु, मर्मत संभार नहुनु, घुम्तीमोडहरु साघुँरा र साना हुनु जस्ता थुप्रै जोखिमपुर्ण समस्या यस राजमार्गमा रहेको यात्रुहरुले गुनासो गर्दै आएका छन् ।

मापदण्ड

तर राजमार्गमा पालना हुनुपर्ने मापदण्ड बिनानै दैनिक दर्जनौ गाडिहरु संचालनमा किन आइरहेका छन् भन्ने प्रश्नमा सुर्खेत जुम्ला सडक योजना प्रमुख शीरबहादुर धिमिरेले भने, “जुम्ला सम्म आर्मीले ट्राक खोलेको हो ।

राजमार्गको मापदण्ड अनुरुप पुरा छैन। हामीले गाडी संचालनका लागि स्विकृत दिएका छैनौ तर जनताले सडक पुगेपछि त्यसको उपभोग गर्ने चाहना भएकोले त्यही अनुसार गाडी संचालनमा छन्।”

कुनैपनि स्थानको सडकको ट्राक खोलिसकेपछि सडक विभागको स्वीकृति बेगर गाडी संचालन गर्ने नपाइने नियम छ।

राजमार्गमा हुनुपर्ने मापदण्ड पुरा भएपछि सडक विभागको स्वीकृतमा मात्र सडक संचालनमा आउनुपर्ने हुन्छ।

तर हाल स्वीविकृती बेगरनै देशभरी नै ट्राक खोल्ने बित्तिकै गाडी सन्चालनमा आइरहेको बारे सडक विभागका उपमहानिर्देशक माधव कुमार कार्कीले भने, “अधिराज्य भरीमा यति धेरै स्थानीय सडक बनेका छन, हामीले त्यहाँ गाडी चलाउनु अथवा नचलाउनु भन्ने अवस्थानै छैन, कर्णाली राजमार्गमा त केवल ट्राक खोलिएको हो।”

कार्कीले गाडीको रुट पर्मिट दिएर गाडी चलाउन पाउने हो कि होइन भन्ने कुरा यातायात विभागलाई प्रश्न गर्नुपर्ने बताए।

देशमा हुने ठूला सडक दुर्घटनामा प्राय मानवीय कारणलाई जिम्मेवार ठहर्याइने गरिए पनि कर्णाली राजमार्गमा भएको दुर्घटनाले फेरि एकपटक दुर्गम पहाडी भेगमा बनाइएको बाटो र त्यसमा यात्रा गर्नुपर्नेहरुले दैनिक बेहोर्नु परिरहेको जोखिमलाई उजागर गरिदिएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।