'भट्टराई नेतृत्वको सरकार हटाउन आन्दोलन'

पछिल्लोपल्ट अपडेट गरिएको: 24.09.12, 20:50 NST सम्मका समाचार
नेपाली कांग्रेस मुख्यालय

विपक्षी दलहरुको बैठकले भट्टराई सरकारलाई चुनौति दिने संकेत दिएको छ

सत्ताधारी दलहरुसंग सहमतिको संभावना सकिएको ठहर गर्दै विपक्षी दलहरुले बाबुराम भट्टराई नेतृत्वको सरकार हटाउन आन्दोलन थाल्ने बताएका छन्।

प्रमुख राजनीतिक शक्तिहरु संविधानसभाको अर्को निर्वाचनमा जान सहमत भएको एक साता नबित्दै विपक्षी दलहरुको बैठकले त्यस्तो निर्णय गरेको हो।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा-माओवादी लगायतका दलहरुले सरकारमा सहभागी दलहरुको गठबन्धनले प्रमुख शहरहरुमा आमसभा गर्ने गत शनिबारको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन्।

कांग्रेस, एमाले, नेकपा-माओवादी लगायतका दलहरुको सोमबारको बैठक वर्तमान सरकार आफैं सहमतिको वाधक भएको निश्कर्षमा पुगेको बैठकको आयोजक नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए।

‘आलोचना’

उनका अनुसार आफैं सरकारमा बसेर प्रमुख शहरहरुमा आमसभा आयोजना गर्ने एकीकृत माओवादी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितका दलहरुको गठबन्धनको निर्णयको बैठकमा चर्को आलोचना भएको थियो।

पौडेलले भने, “सरकारमै बसेर र्‍याली, शक्ति प्रदर्शनको कुरा गरेपछि सहमतिको बाटोमा आउन तयार नभएको यो सरकारलाई हट्नको लागि वाध्य गराउन हामीहरुले आन्दोलनको आवश्यकता महसुस गर्‍यौं”

"सरकारमै बसेर र्‍याली, शक्ति प्रदर्शनको कुरा गरेपछि सहमतिको बाटोमा आउन तयार नभएको यो सरकारलाई हट्नको लागि वाध्य गराउन हामीहरुले आन्दोलनको आवश्यकता महसुस गर्‍यौं"

रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस

आन्दोलनको कार्यक्रम आउने बिहीबार बस्ने बैठकले तय गर्ने बताइएको छ।

गत साता मात्रै प्रमुख राजनीतिक शक्तिहरु संविधानसभा पुनर्स्थापनाको विकल्पलाई त्याग्दै नयाँ निर्वाचनमा जान सहमत भएका थिए।

तर निर्वाचनको मार्गचित्रबारे दलहरुबीच सहमति हुन सकेन।

विपक्षी दलहरुको बैठकमा सहभागी नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले सरकारमा रहेका दलहरु वार्ता गर्न तयार नभएपछि सरकार हटाउने आन्दोलन थाल्ने निर्णय भएको बताए।

‘बाधक’

पौडेलले भने, “भट्टराई नेतृत्को सरकार राष्ट्रिय सहमतिको विरोधी र निकासको बाधक भएकोले आन्दोलन नै अपरिहार्य भएको वैठकले महसुस गर्‍यो।”

जेठ १४ गते संविधानसभाको अवसान भएपछि आइपरेको राजनीतिक एवं संवैधानिक संकटको निकासको निम्ति विपक्षीदलहरुले राष्ट्रिय सहमतिको सरकार गठन हुनु पर्ने माग दोहोर्‍याइरहेका छन्।

सत्तासीन दलका नेताहरु चाहिं त्यसनिम्ति प्याकेजमा सहमति हुनु पर्नेमा जोड दिइरहेका छन्।

संकटको निकास र आगामी चुनावको मार्गचित्र प्रष्ट हुन नसकेको बेला सत्तारुढ नेतृत्वको गठबन्धन र विपक्षी दलहरुबाट आएको शक्ति प्रदर्शनको चेतावनीले राजनीतिक मुठभेड निम्त्याउन सक्ने चिन्ता थपिदिएको छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।