असोज मसान्त भित्र सहमति : दलहरु

पछिल्लोपल्ट अपडेट गरिएको: 30.09.12, 21:03 NST सम्मका समाचार

राष्ट्रपतिले राजनीतिक गतिरोधको निकास खोज्न दलहरुलाई परामर्शमा डाकेका थिए

राजनीतिक दलहरुले राष्ट्रपतिलाई अबको दुइ सातामा सहमति बनाउने वचन दिएका छन्।

संविधान सभाको अवसान भएको चार महिना पुरा भएकै दिन पारेर राष्ट्रपतिले आइतबार प्रमुख दल लगायत अन्यलाई पनि संयुक्त परामर्शमा डाकेका थिए।

राष्ट्रपतिसँगको संयुक्त बैठक सकिएपछि चार प्रमुख राजनीतिक शक्तिका प्रमुखहरुले राष्ट्रपति निवासमै छुट्टै बैठक गरेका थिए।

उनीहरुले सोमबार आपसी बैठक गर्ने र मंगलबार सर्वदलीय बैठक गरेर सहमति खोज्न प्रयत्न गर्ने समझदारी बनाएको बताएका छन्।

सहमति

राष्ट्रपति कार्यालय शीतल निवासमा चारघन्टा भन्दा लामो समय विताएर बाहिर निस्कँदा सबै प्रमुख नेताहरुको बीचमा बसेर प्रवक्ताले झैं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने "विषयको गम्भीरता बोध भएको छ, हामी सकेसम्म असोज मसान्त भित्रै सहमति खोज्छौं।"

ठीक दुइ साता अघिको आइतबार भएको यस्तै बैठकमा निर्णायक निकासका लागि राष्ट्रपतिले दवाव दिएपछि त्यसैसाता दलहरुले निकासका लागि अर्को चुनावमा जाने सहमति बनाएका थिए।

ध्रुबीकरण

"विषयको गम्भीरता बोध भएको छ हामी सकेसम्म असोज मसान्त भित्रै सहमति खोज्छौं"

पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष, एकीकृत माओवादी

तर निर्वाचन प्रक्रियाबारे कुराकानी गर्ने भनिएको बैठकमा माओवादी र कांग्रेसका शीर्ष नेता सहभागी नभएपछि बैठक महत्वहिन बनेको थियो।

राष्ट्रपतिसँगको हरेक भेटपछिको प्रतिक्रियामा आफुहरु छिटै सहमतिमा पुग्ने भन्दै आएका मु्ख्य नेताहरु लगत्तै दुइ तर्फ फर्केर ध्रुबीकरणमा लाग्दै आएका छन्।

राष्ट्रपतिले संविधान सभा समाप्त भए यता कहिले प्रमुख दलका शीर्ष नेता त कहिले तत्कालीन संविधान सभामा प्रतिनिधित्व गरेका सबै दलका मुख्य नेताहरु बोलाएर छलफल गराउने गरेका छन्।

सत्तापक्ष र विपक्षीको भनाभनको चेपुवामा परेका राष्ट्रपतिले वर्तमान राजनीतिक गतिरोध तोड्न अभिभावकको हैसियतले आफ्नो केहि भूमिका रहेको बताउने गरेपनि त्यसको व्यवहारिक अर्थ खुलाउने गरेका छैनन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।