चुनावी जटिलताबारे दलहरु अन्यौलमा

पछिल्लोपल्ट अपडेट गरिएको: 02.10.12, 20:19 NST सम्मका समाचार
दलका नेताको बैठक

प्रमुख दलले यस अघि संविधानसभाको नयाँ चुनावमा जाने सहमति गरेका थिए

विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको मंगलबार बसेको बैठकमा उपस्थित अधिकांशले नयाँ चुनावमा जानु उपयुक्त हुने धारणा राखे पनि त्यसका लागि विद्यमान संवैधानिक र कानुनी अड्चन कसरी फुकाउने भन्नेमा चाहिं उनीहरुको मत बाझिएको देखिएको छ।

केहीले विघटित संविधानसभा पुनर्स्थापना गरेर संविधान संशोधन नगरी चुनावमा जानै नसकिने धारणा राखे भने केहीले दलहरुबीच सहमति बने सोझै नयाँ चुनावमा जान संवैधानिक अवरोध उत्पन्न नहुने विचार राखेका थिए।

"“माहोल चुनावकै थियो तर त्यसका लागि बाटो कसरी पक्का गर्ने भन्नेमा चाहिं मतान्तरहरु थिए"

रामचन्द्र पौडेल, उपसभापति, नेपाली कँग्रेस

संविधानसभा विघटन भएपछि त्यसमा प्रतिनिधित्व गर्ने सबै ३३ दलको सामूहिक बैठक बसेको यो पहिलो अवसर थियो तर त्यो बैठक पनि जारी राजनीतिक गतिरोध अन्त्यका लागि सहायक बन्न सकेको देखिएन।

सुझाव

बरु दलै पिच्छे फरक धारणा आए।

अधिकांशले नयाँ चुनावमा जाने दिशामा सहमति जुटाउन ठूला दललाई सुझाव त दिए, तर त्यस्तो सुझाव दिने दल नै नयाँ चुनावका लागि तगारो बनेको ठानिएको संवैधानिक अड्चन कसरी फुकाउने भन्नेमा चाहिं अन्यौलग्रस्त देखिए।

बैठकमा उपस्थित नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, “माहोल चुनावकै हो तर त्यसका लागि बाटो कसरी पक्का गर्ने भन्नेमा चाहिं समाधान निस्केन।”

अधिकांश साना दलले गतिरोध अन्त्यका लागि सक्रिय हुन ठूला दललाई सुझाव दिएका थिए।

"नयाँ चुनावमै जाने हो भने पनि निर्वाचन प्रणाली र कस्तो हुने लगायतका निर्णय गर्नुपर्छ र त्यस्का लागि संविधान संशोधन नगरी हुँदैन तर संविधान संशोधनका लागि संविधानसभा पुनर्स्थापना गर्नुको विकल्प छैन"

प्रेमबहादुर सिंह, अध्यक्ष, समाजवादी जनता पार्टी

साना दलमध्येको एक समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले नयाँ चुनावमा जाने नै हो भने पनि संविधानसभा पुनर्स्थापना गर्नुको विकल्प नभएको सुझाव दिईएको बताए।

सिंहले थपे, “नयाँ चुनावमै जाने हो भने पनि चुनाव प्रणाली के हुने लगायतका निर्णय गर्नुपर्छ र त्यसका लागि संविधान संशोधन नगरी हुँदैन तर संविधान संशोधनका लागि संविधानसभा पुनर्स्थापना गर्नुको विकल्प छैन।”

एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले नयाँ संबिधानसभाको चुनावमा जानु अघि कानुनी आधार तयार पार्न साना दलबाट सुझाव आएको बताए।

एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाले यस अघि मरिसकेको संविधानसभा नब्युँताउने र नयाँ संविधानसभाको चुनावमा जाने सहमति गरिएको बताएका थिए।

तर त्यो प्रक्रियामा पुग्न वाधा बनेको संवैधानिक अड्चनका बारेमा साना दलहरुले फेरि एक पटक उनीहरुलाई झस्काई दिएका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।