'पार्टीत्यागले धक्का पर्दैन'

पछिल्लोपल्ट अपडेट गरिएको: 04.10.12, 20:22 NST सम्मका समाचार
some CPN UML dissidents leave party

एमालेका केही असन्तुष्टहरुले पार्टी छाडेको घोषणा गरेका छन्

नेकपा एमाले सम्बद्ध जनजाती समुदायका केही बरिष्ठ नेता र कार्यकर्ताहरुले बिहीबार सार्वजनिक सभा मार्फत पार्टी त्यागेका छन्।

बुधबार त्यसैगरी नेपाली कांग्रेसका केही जिल्ला नेताहरुले पार्टी त्यागेका थिए।

खासगरी संघीयताको स्वरुपबारे काँग्रेस, एमालेले लिँदै आएको अडानबाट चित्त दुखाउँदै आएका केही जनजाती नेताहरुले पार्टी छोडेपनि त्यसको असरबारे दुईवटा राष्ट्रिय पार्टीहरु कांग्रेस तथा एमालेका नेताहरु त्यति चिन्तित देखिन्नन्।

आलोचना

पार्टी त्याग गर्न आयोजित एउटा कार्यक्रममा एमाले उपाध्यक्ष अशोक राई लगायतका नेताले आफूले दशकौं बिताएको पार्टीको चर्को आलोचना गरेका थिए।

एमालेबाट सामुहिक राजीनामा दिएर नयाँ दल बनाउने घोषणा गर्दै राईले भने, “पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको पक्षमा लाग्ने शक्ति बनाउन, कटिबद्धता साथ लाग्ने शक्ति निर्माणमा लाग्न एमाले त्यागेका हौं।”

कार्यक्रममा राईले पार्टी त्याग गर्ने ४७ जनाको नाम पढेर सुनाए पनि आफ्नो ११६ सदस्यीय केन्द्रीय समितिबाट छ जना बाहिरिएको एमालेले जनाएको छ।

"मानसिक रुपमा पार्टी तयार थियो, उहाँहरुसँग धेरै चरणमा कुराकानी पनि भयो। एउटा ढिस्को खसेपनि त्यसले खासै धक्का पार्दैन"

पर्शुराम मेघी गुरुङ, केन्द्रीय सदस्य तथा एमाले संघीय मामिला प्रमुख

एमालेले केन्द्रीय कमीटी लगायत आफ्नो पार्टी संरचनालाई समावेशी बनाइसकेको केन्द्रीय सदस्य तथा एमाले संघीय मामिला प्रमुख पर्शुराम मेघी गुरुङले बताए।

'धक्का पर्दैन'

उनले भने, “मानसिक रुपमा पार्टी तयार थियो, उहाँहरुसँग धेरै चरणमा कुराकानी पनि भयो। एउटा ढिस्को खसेपनि त्यसले खासै धक्का पार्दैन।”

नेपाली कांग्रेसले पनि विधानमा व्यवस्था गरेरै केन्द्रीय लगायत पार्टीका आन्तरिक निकायहरु समावेशी बनाइसकेको सो दलका नेता गोपालमान श्रेष्ठले बताएका छन्।

उनले अहिले केही नेता कार्यकर्ताले गरेको पार्टी त्यागबाट आफूहरुलाई खासै असर नपर्ने बताएका छन्।

उनले भने, “कुमार राईलाई जिल्ला सभापति र सभासद पनि बनाएकै हो नजान पनि भनेकै हो। गएकोमा दुख छ तर त्यसले हाम्रो पार्टीलाई खासै असर पार्दैन।”

बीबीसीकी काठमाण्डूस्थित एक संवाददाता भन्छिन्, पछिल्लो समयमा नेपाली राजनीतिमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकताबारे बहस हुने गरेको देखिन्छ।

तर त्यस्तो शक्तिको उदय र प्रभावकारीताबारे मानिसहरु त्यति आशावादी देखिँदैनन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।