सरकारलाई आन्दोलनबाटै हटाउँछौं: एमाले

पछिल्लोपल्ट अपडेट गरिएको: 05.10.12, 20:18 NST सम्मका समाचार
एमाले आमसभामा सहभागीहरु

एमाले नेताहरुले प्रधानमन्त्री बाबुराम भट्टराईले पद नत्यागेसम्म आन्दोलन नरोकिने बताएका छन्

केही दिनअघि राष्ट्रपति रामवरण यादवसँग असोजभित्र आफूहरू सहमितमा पुग्ने वाचा गरेका दलमध्येको एक एमालेका नेताले शुक्रबार राजधानीमा आयोजित आमसभामार्फत सरकार हटाउने आन्दोलन शुरु भएको बताएका छन्।

आफ्नै पार्टीका केही जनजाती नेताले पार्टी परित्याग गरेको एक दिनपछि माउ पार्टी नेकपा एमालेले गरेको आमसभामा बोल्ने अधिकांश नेताहरु सरकार, एकीकृत माओवादी र आफ्नै पार्टी छोडेर जाने केही नेताहरु विरूद्ध खनिएका थिए।

चेतावनी

"पहिचान नभएको पार्टीमा बस्दीन भन्ने अशोक राईलाई कसले दियो पहिचान? नेकपा एमालेका तर्फबाट पटक पटक मन्त्री हुँदा उनले पहिचान पाए कि पाएनन्र? उपाध्यक्ष हुँदा पहिचान पाए कि पाएनन्? "

केपी शर्मा ओली, नेता, नेकपा एमाले

राजधानीका विभिन्न ठाउँबाट भेला भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले प्रधनमन्त्री बाबुराम भट्टराईलाई तानेरै हटाईदिने चेतावनी दिए।

उनले भने, “हामीले तानेर खसाउनु पर्ने हो की आफै ओर्लने हो? म बाबुराम भट्टराईलाई सोध्न चहान्छु, यदि तानेरै खसाउनु पर्ने हो भने म भन्न चाहन्छु आउनुस् आन्दोलन शुरु भयो।”

पार्टी छोडेर गएका जनजाती नेताप्रति संकेत गर्दै खनालले भने, बाँसको टुसो बढ्दै गएपछि त्यस्ले पट्यास त फ्याँक्छ तर बाँस चाहिं फुट्दैन।

खनालले आफ्नो पार्टीले पनि पट्याँस फ्याँक्दै जाने तर माउ पार्टीलाई चाहीं त्यसबाट खासै फरक नपर्ने बताए।

कार्यक्रममा बोल्दै एमालेकै अर्का नेता केपी शर्मा ओलीले एकीकृत माओवादीले जाती-जातीबीच संघर्ष चर्काउन खोजेको आरोप लगाए।

"हामीले तानेर खसाउनु पर्ने हो की आफै ओर्लने हो? म बाबुराम भट्टराईलाई सोध्न चहान्छु, यदि तानेरै खसाउनु पर्ने हो भने म भन्न चाहन्छु आउनुस् आन्दोलन शुरु भयो"

झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले

ओलीको कथन थियो, आफ्नै जनजाती नेता पनि कसैको उक्साहटमा उछालिन पुगे।

उनले भने, “भुकुण्डो पछारे पछि पछारिन्छ, हाम्रा केही साथी पनि बिहीबार पछारिएको हामीले देख्यौं, पहिचान नभएको पार्टीमा बस्दीन भन्ने अशोक राईलाई कसले दियो पहिचान? नेकपा एमालेका तर्फबाट पटक पटक मन्त्री हुँदा उनले पहिचान पाए कि पाएनन्? उपाध्यक्ष हुँदा उनले पहिचान पाए कि पाएनन्?”

राष्ट्रपति रामवरण यादवसमक्ष यही महिनाभित्र सहमितमा पुग्ने वाचा गरेपछि दुई चरणमा कुराकानी गरेपनि सहमितको कुनै संकेत दिन नसकेका दलका नेताहरुबीच आरोप प्रत्यारोपका श्रृंखला चाहीं अझै रोकिएको छैन।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।