भारत लक्षित अभियान रोक्न दबाब छैन: वैद्य

पछिल्लोपल्ट अपडेट गरिएको: 06.10.12, 20:43 NST सम्मका समाचार
वैद्य नेतृत्वको माओवादीका नेताहरु

वैद्य नेतृत्वको माओवादीले राष्ट्रिय स्वाधीनताका लागि भन्दै भारत लक्षित अभियान थालेको छ

हिन्दी चलचित्र प्रदर्शन तथा भारतीय नम्बर प्लेटका सवारी साधनको सञ्चालनमा अवरोध पुर्‍याउँदै आएको वैद्य नेतृत्वको माओवादीको अभियान रोक्न, सरकार विरोधी मोर्चामा उसको सहयात्री रहेका दलहरुले दबाब नदिएको अध्यक्ष मोहन वैद्यले बताएका छन्।

तर केही समयदेखि जारी उसका ती कार्यक्रमहरुप्रति दुई प्रमुख विपक्षी दल नेपाली कांग्रेस तथा नेकपा एमालेका नेताहरुले भने तीव्र आपत्ति जनाउँदै सहयात्रामा असर पर्ने चेतावनी दिएका छन्।

यथावत

सरकारको विरोधमा एमाले र कांग्रेसको साथमा रहेको माओवादीले, उनीहरुको सरकार विरोधी मोर्चाको समितिमा भने सम्मिलित नभई संघर्षका आफ्ना कार्यक्रमहरु यथावत राख्ने जनाएको छ।

“वहाँहरुले सुझावसम्म दिनुभएको छ। तर आपत्तिको रुपमा कुरा राख्नुभएको छैन,” वैद्यले भने।

तर नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल माओवादीको पछिल्लो अभियानले अनावश्यक रूपमा छिमेकी मित्रराष्ट्रलाई चिढ्याउन सक्ने ठान्छन्।

चेतावनी

पौडेललेले उनकै शब्दमा सो अव्यवहारिक अभियान नसच्च्याइए आफ्नो पार्टीले माओवादीसंग सरकार विरोधी सहकार्य समेत तोड्न सक्ने उनले चेतावनी दिए।

“प्रजातन्त्रका लागि तथा निरंकुशता विरुद्ध कार्यगत एकता हुनसक्छ। तर वैद्य माओवादीको काम कारवाहीले अप्ठेरो पार्छ, सम्बन्ध र सहकार्यमै असर पर्न सक्छ,” उनले भने।

"प्रजातन्त्रका लागि तथा निरंकुशता विरुद्ध कार्यगत एकता हुन सक्छ। तर वैद्य माओवादीको काम कारवाहीले अप्ठेरो पार्छ, सम्बन्ध र सहकार्यमै असर पर्न सक्छ"

रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस

त्यत्तिकै कडा शैलीमा प्रतिवाद नगरेपनि माओवादीको अभियानप्रति आफ्नो पार्टी पटक्कै खुशी नभएको एमालेका नेताहरुले पनि स्पष्ट पारेका छन्।

सो दलका सचिव युवराज ज्ञवालीले भने, “वहाँहरुले अपनाएको तरीकाप्रति नेकपा एमाले सहमत हुन सक्दैन। हामी एकसाथ अघि बढ्न चाहन्छौं तर त्यसका लागि वहाँहरु सच्चिन पर्छ।”

हाई सञ्चो

उनले गरेको आग्रहलाई भने माओवादीले गम्भीरतापूर्वक लिने छाँट देखाएको छैन।

आफ्नो वर्तमान अभियानको पहिलो चरण सकिन लागेको र अर्को चरण त्यसपछि तय गरिने भन्दै अध्यक्ष वैद्यले आफ्नै बाटोमा लागीरहने संकेत दिएका छन्।

“यो एमाले र कांग्रेससंग जोड्नु पर्ने विषय नै होइन। वहाँहरुको आफ्नो तरीका छ, हाम्रो आफ्नै तरीका छ,” उनले भने।

सरकार विरोधी आन्दोलनले गति नलिंदै विपक्षमा रहेका दलहरुबीच खटपट शुरु भएपछि सरकार पक्षीय गठबन्धनलाई भने अझै केही समय हाईसञ्चो हुने सम्भावना कतिपय विश्लेषकहरुले देखेका छन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।