पुनर्स्थापना शर्त होइन: एकीकृत माओवादी

पछिल्लोपल्ट अपडेट गरिएको: 07.10.12, 20:32 NST सम्मका समाचार
अध्यक्ष प्रचण्ड

प्रचण्डले सुशील कोइरालासंगको भेटमा पुनर्स्थापना शर्तको रुपमा उठाएको विपक्षीको आरोप छ

सत्ता हस्तान्तरण गर्न संविधानसभाको पुनर्स्थापनालाई आफुहरुले शर्तको रुपमा विपक्षीहरु समक्ष प्रस्तुत नगरेको सरकारको नेतृत्व गरिरहेको एकीकृत नेकपा माओवादीले जनाएको छ।

तर ताजा चुनावमा जानु अघि संविधान संशोधन गर्न समेत आवश्यक पर्न सक्ने भन्दै पुनर्स्थापनाको विकल्प खुलै राखेको माओवादी प्रवक्ताले जनाए।

अध्यक्ष प्रचण्डले पुनर्स्थापनामा सहमत भए आफ्नो दलको नेतृत्वको सरकार स्वीकार्ने बताएको भन्दै नेपाली कांग्रेसका नेताहरुले विरोध गरेका थिए।

लथालिङ्ग

अघिल्लो आईतबार राष्ट्रपतिसंगको सामूहिक भेटघाटपछि सहमतिको ताजा प्रयास थाल्ने भन्दै बाहिरिएका दलका नेताहरुको प्रयास एक हप्ता वित्दापनि लथालिङ्ग अवस्थामै छ।

गएको शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापतिसंगको कुराकानीमा संविधानसभा पुनर्स्थापनाको कुरा पुन कोट्याएपछि विपक्षीहरु झनै सशंकित बनेका छन्।

त्यसैको प्रतिवादमा एकीकृत माओवादीले पुनर्स्थापना आफुहरुले शर्तको रुपमा प्रस्तुत नगरेको बताएको हो।

“शर्तको रुपमा होइन। निर्वाचनमा जाँदापनि संविधान संशोधन गर्न पर्छ। त्यसका लागि संविधानसभा पुनर्स्थापना हुनुपर्ने एकथरीको भनाई छ। त्यही सन्दर्भमा पुनर्स्थापनाको विकल्प हामीले बन्द गरेका छैनौं भनेर स्पष्ट पारेका मात्र हौं,” एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले बताए।

षडयन्त्र

तर नेपाली कांग्रेसका नेताहरुले एकीकृत माओवादीको पछिल्लो आशयमा षडयन्त्रको गन्ध पाएका छन्।

"चार राजनीतिक दल बसेर अब पुनर्स्थापनामा सहमति हुन सक्दैन चुनावमै जानु पर्छ भन्ने सहमति भएको थियो। तर प्रधानमन्त्रीको कुर्सीले गर्दा सबैलाई लोभ देखाउन माओवादीहरुले पुन पुनर्स्थापनाको कुरा गर्दैछन्। प्रचण्डलेपनि त्यही कुरा उठाएका छन्। हामी उनीहरुको जालमा फँस्नु हुँदैन"

शेखर कोइराला, नेपाली कांग्रेसका नेता

“चार राजनीतिक दल बसेर अब पुनर्स्थापनामा सहमति हुन सक्दैन चुनावमै जानु पर्छ भन्ने सहमति भएको थियो। तर प्रधानमन्त्रीको कुर्सीले गर्दा सबैलाई लोभ देखाउन माओवादीहरुले पुन पुनर्स्थापनाको कुरा गर्दैछन्। प्रचण्डलेपनि त्यही कुरा उठाएका छन्। हामी उनीहरुको जालमा फँस्नु हुँदैन,” नेपाली कांग्रेसका नेता शेखर कोइरालाको भनाई छ।

अर्को विपक्षी नेकपा एमालेको बुझाइपनि लगभग उस्तै छ।

सहमतिको इमानदार प्रयत्न नगरी माओवादी अरुलाई छल्ने रणनीतिमा लागेको एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आरोप लगाए।

आफ्नो आरोपलाई बल पुर्‍याउन ज्ञवालीले ‘तीनवटा पछिल्ला फेहरिस्त’ प्रस्तुत गरे।

“पहिलो, उसले राष्ट्रपतिपनि कांग्रेसको प्रधानमन्त्रीपनि कांग्रेसको हुन सक्दैन भन्दै राष्ट्रपतिलाई विवादमा ल्याउने प्रयास गर्‍यो। दोस्रो, प्रचण्डको नाममा मात्र सहमति हुन सक्छ भन्यो। त्यसो भए बाबुराम भट्टराई हटेर प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन् भन्ने कुरा उठायो। तेस्रो, यो पुनर्स्थापनाको पुन प्रयत्न गरेको छ। ती सबै उसको समस्या लम्ब्याउने रणनीति अन्तर्गत गरिएका प्रयास हुन्।”

अलमल र अन्योलको बादल फाट्नुको साटो झनै घना बन्दै गर्दा असोज मसान्तसम्म सहमति गर्ने दलहरुको एक साता पुरानो वाचा पूरा हुने सम्भावना क्षीण बनेको विश्लेषकहरु बताउँछन्।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।