संविधानसभा पुनर्स्थापनाबारे थप छलफल

पछिल्लोपल्ट अपडेट गरिएको: 11.10.12, 21:38 NST सम्मका समाचार
विघटित संविधानसभा

संविधानसभा पुनर्स्थापनाको बाटोबारे बहस चर्किदो छ

संविधानसभाको अवसानपछि उत्पन्न राजनीतिक संकटको निकासबारे विघटित संविधानसभा भवनमा भेला भएका २०० भन्दा बढी पूर्वसभासदहरु मध्ये कैयौंले छोटो समयका लागि संविधानसभा पुनर्स्थापना गरेर संकट समाधान गर्नु पर्नेमा जोड दिएका छन्।

संविधानसभा पुनर्स्थापनाबारे दलहरुमाझ प्रष्टता नभएको बेला आयोजित सो भेलामा बोल्ने झण्डै २० जना पूर्वसभासदहरुमध्ये धरैले विवादित विषयहरुलाई थाती राख्दै सहमतिका आधारमा संविधान घोषणा गर्दै चुनावमा जान सकिने धारणा राखेको सहभागीहरुले बताए।

एक महिनाअघि संविधानसभाको नयाँ चुनावमा जान सहमत भएका प्रमुख दलहरुले यसै साता फेरि संविधानसभा पुनर्स्थापनाको विषयमा छलफल गरेका हुन्।

तर एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले गरेको संविधानसभा पुनर्स्थापनाको प्रस्तावबारे मुख्य दलहरुबीच सहमति जुटिसकेको छैन।

सुझावहरु

बिहीबार संविधानसभा भवनको भेलामा बोल्ने कतिपय सहभागीहरु राजनीतिक सहमतिका आधारमा संविधानसभा पुनर्स्थापना गर्नु पर्नेमा एकमत भएको त्यहाँ सहभागी नेकपा एमालेका पूर्व प्रमुख सचेतक भीम आचार्यले बताए।

"सहमति गरेर संविधानसभा पुनर्स्थापना गर्ने, संगसंगै राष्ट्रिय सहमतिको सरकारको कुरा आउँछ, त्यसपछि संविधान घोषणा गरेर चुनाव घोषणा गर्ने सुझाव हामीले दिएका छौं"

भीम आचार्य, पूर्व प्रमुख सचेतक, नेकपा एमाले

उनले भने, “सहमति गरेर संविधानसभा पुनर्स्थापना गर्ने, संगसंगै राष्ट्रिय सहमतिको सरकारको कुरा आउँछ, त्यसपछि संविधान घोषणा गरेर चुनाव घोषणा गर्ने सुझाव हामीले दिएका छौं।”

दलहरुबीच गम्भीर छलफलपछि नयाँ सहमतिपत्रमा हस्ताक्षर गर्दै राष्ट्रिय सहमतिको सरकार बनाउने, त्यसपछि पुनर्स्थापित संविधानसभाबाट संविधान घोषणा गर्ने र संसदको नयाँ चुनावमा जाने प्रस्तावहरु अगाडि आएका छन्।

तर नेपाली कांग्रेसका पूर्व प्रमुख सचेतक लक्ष्मण घिमिरेले निकासको मार्गचित्रबारे दलहरु प्रस्ट नभएकाले अन्यौल जारी रहेको टिप्पणी गरे।

"समाधानका कुरा पहिले नै टुंगो लगाएर अघि बढ्नु भयो भने समाधान हुन्छ, होइन भने देखि टुंगो लाग्दैन"

लक्ष्मण घिमिरे, पूर्व प्रमुख सचेतक, नेपाली कांग्रेस

उनले भने, “चाहे नयाँ संविधानसभाको निर्वाचन गर चाहे पुरानै ब्युंताउ, समाधानका कुरा पहिले नै टुंगो लगाएर अघि बढ्नु भयो भने समाधान हुन्छ, होइन भने देखि टुंगो लाग्दैन।”

‘सत्ता केन्द्रित’

पूर्व सभासद तथा प्रमुख राजनीतिक दलका नेताहरुले केही दिन देखि संविधानसभा पुनर्स्थापनाको विकल्पबारे छलफल गरेपनि त्यसो गर्नको निम्ति संवैधानिक र कानुनी अडचनहरु फुकाउनुपर्ने जानकारहरु बताउँछन्।

निकासका विभिन्न उपायहरुबारे प्रमुख राजनीतिक दल र तिनका नेताहरुले महिनौंदेखि छलफल गरिरहेको भएपनि सत्ता केन्द्रित राजनीतिले निकास दिन नसकेको धेरैको भनाइ छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।