नयाँ चुनावमा जानुस्: राष्ट्रपति

पछिल्लोपल्ट अपडेट गरिएको: 15.10.12, 20:55 NST सम्मका समाचार
राष्ट्रपति यादव

राष्ट्रपति यादवले आफूले अन्तरिम संविधानलाई गीताको रुपमा लिएको बताए

सत्तारुढ दलहरुले संविधानसभा पुनर्स्थापना गर्नुपर्ने बताइरहेका बेला राष्ट्रपति रामबरण यादवले संविधानसभाको चुनावमा जानुपर्ने बताएका छन्।

निजी कामको क्रममा सोमबार जनकपुर आएका राष्ट्रपति डा यादवले सञ्चारकर्मीहरुसितको कुराकानीमा दलहरुलाई पटकपटक सहमतिका लागि आग्रह गर्दापनि सहमति हुन नसकेकोमा चिन्ता व्यक्तगर्दै राष्ट्रलाइ सँधैभरि शून्यतामा राख्न नसकिने बताए।

"सर्वोच्च अदालतले पनि भनिसक्याछ, चुनावमा जाने मिति निश्चित गर्नोस, प्रक्रिया निश्चित गर्नोस, जनताकहाँ जानोस र नयाँ सभा खडा गर्नोस, त्यसैबाट जनतलाई संविधान दिनोस्"

डा रामवरण यादव, राष्ट्रपति

उनले सर्वोच्च अदालतले संविधानसभा पुनर्स्थापनालाई विकल्पको रुपमा प्रस्तुत नगरेको धारणा पनि व्यक्त गरे।

नयाँ सभा

राष्ट्रपति यादवले भने, “सर्वोच्च अदालतले पनि भनिसक्याछ, चुनावमा जाने मिति निश्चित गर्नोस, प्रक्रिया निश्चित गर्नोस, जनताकहाँ जानोस् र नयाँ सभा खडा गर्नोस्, त्यसैबाट जनतलाई संविधान दिनोस्।”

उनले राष्ट्राध्यक्षको नाताले सहमतिको सरकार, पूर्ण बजेट र पाँच वर्षको सभाको जनचाहना अनुरुप कार्य गर्ने बताए।

उनले थपे, “सहमतिको सरकार आओस्, त्यसपछि पूर्ण बजेट र त्यसपछि जनताको चाहना अनुसार निर्वाचन भएर पाँच वर्षका लागि एउटा सभा आओस्, एक डेढ वर्षमा त्यसले संविधानसभाको रुपमा काम गरोस र चाहिएको संविधान बनाओस र त्यो पूर्ण रुपमा सभा या सदनको रुपमा पाँच वर्ष काम गरोस।”

"सहमतिको सरकार आओस, त्यसपछि पूर्ण बजेट र त्यसपछि जनताको चाहना अनुसार निर्वाचन भएर पाँच वर्षका लागि एउटा सभा आओस, एक डेढ वर्षमा त्यसले संविधानसभाको रुपमा काम गरोस र चाहिएको संविधान बनाओस र त्यो पूर्ण रुपमा सभा या सदनको रुरुपमा पाँच वर्ष काम गरोस"

डा. रामवरण यादव, राष्ट्रपति

उनले संविधानसभा पछि उत्पन्न संवैधानिक र राजनीतिक शून्यता लम्बिरहन नसक्ने बताए।

उनले भने, “मुलुकमा सँधै अवरोध रहन सक्दैन, यो संविधानलाई मैले गीताको रुपमा लिएको छु, यहि संविधान अनुसार दलहरुलाई सहमति गराउँदै लैजान्छु भनेर मलाई पूर्ण विश्वास छ।”

राष्ट्रपति भएपछि पहिलो पटक यात्रुवाहक विमानबाट गृहनगर आएका उनी साँझको विमानबाट राजधानी फर्केका थिए।

राष्ट्रपति यादवले जिल्ला मालपोत कार्यालयमा गई आफ्नो नाउँको जग्गा छोरी अनिता यादवको नाउँमा पास गरेका थिए।

जानकी मन्दिर र गोपाल सेवा समिति परिसरमा रहेको कृष्ण मन्दिरमा पनि उनले पूजाअर्चना गरेका थिए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।