‘राष्ट्रपति र प्रधानमन्त्री मिलेर जाने’

पछिल्लोपल्ट अपडेट गरिएको: 16.10.12, 20:11 NST सम्मका समाचार
Nepal Prime mInister President meet

राष्ट्रपति र प्रधानमन्त्रीबीच मंगलबार भएको छलफलमा समझदारीमा अघि बढ्ने सहमती भएको नेतहरुले बताएका छन्।

राजनीतिक र संवैधानिक संकट समाधानको विधि र प्रयासहरुबारे परस्पर विरोधी धाराणा व्यक्त गर्दै आएका सरकार प्रमुख र राष्ट्र प्रमुखबीच मंगलबार भएको दुई घण्टा लामो छलफलमा दुवै संस्थालाई विवादमा नल्याउने सहमती भएको नेताहरुले बताएका छन्।

सहमतिको लागी राष्ट्रपतिले मंसिरको पहिलो सातासम्मको समय दिएको प्रधानमन्त्रीका प्रमुख राजनीतीक सल्लाहाकारले बताए।

केही समय यता राष्ट्रपति र प्रधानमन्त्रीबीच संविधानसभा पुनर्स्थापना वा नयाँ चुनाव भन्ने विषयमा दोहोरी चल्दै आएको छ।

संकट निकासबारे प्रधानमन्त्री र राष्ट्रपतिबीच मतभेद सार्वजनिक हुनथालेपछि सरकार प्रमुख र राष्ट्र प्रमुखबीच टकरावको स्थिती उत्पन्न हुने खतरा बढेको थियो।

संविधानसभा पुनर्स्थापना वा नयाँ निर्वाचन भन्ने सम्बन्धमा शनिबारयता चलेको परस्पर कडा वक्तव्यबाजीपछि मंगलबार राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच लगभ दुई घण्टा छलफल भएको थियो।

भेटपछि प्रधानमन्त्री भट्टराईले पत्रकारहरुलाई भने, “दुईटा सम्मानित संस्थाकोबीचमा राम्रो समझदारी कायम गरेरमात्र निकास निकाल्नु पर्छ।”

सहमति

केही दिन चलेको वाक्युद्धपछि मंगलवार भएको छलफलमा तिहारपछि अर्थात मंसिरको पहिलो सातासम्म निकास निकाल्ने सहमति भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार देवेन्द्र पौडेलले बताए।

"दुईटा सम्मानित संस्थाकोबीचमा राम्रो समझदारी कायम गरेरमात्र निकास निकाल्नु पर्छ"

बाबुराम भट्टराई, प्रधानमन्त्री

पौडेलले भने, “मंसिरको पहिलो सातासम्म सहमति निकाल्नु पर्नेमा मोटामोटी सहमति भएको छ।”

यसअघि राष्ट्रपतिले मंगलवार, अर्थात असोजको पहिलो दिनसम्मको समय दिएका थिए।

बीबीसीले पटक पटक सम्पर्क गर्दापनि राष्ट्रपति कार्यलयका तर्फबाट कसैले पनि मंगलबारको भेटबारे टिप्पणी गर्न चाहेनन्।

छलफलमा बजेट, अध्यादेशहरु र राष्ट्रपतिले चाल्न सक्ने कदमकाबारे पनि छलफल भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार पौडेलले उल्लेख गरे।

प्रधानमन्त्रीले संविधानको दायरा भन्दा बाहिर गएर कुनै पनि कदम राष्ट्रपतिले चाल्न नहुनेमा जोड दिएको पौडेलले बताए।

सरकार र राष्ट्रपतिबीच केही समय यता बढेको देखिएको मतभेद सो भेटघाटपछि अली कम हुने कतिपयको अनुमान छ।

तर संविधानसभा विघटनपछि चुलीएको राजनीतिक संकट भने कम्तिमा तिहारसम्म ज्युँका त्यूँ रहने देखिन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।