पुनर्स्थापना नगर्ने भए सरकार नछोड्ने: प्रचण्ड

पछिल्लोपल्ट अपडेट गरिएको: 18.10.12, 20:04 NST सम्मका समाचार

माओवादी अध्यक्ष प्रचण्डले संविधानसभा पुनर्स्थापना गर्नुपर्नेमा जोड दिंदै आएका छन्

प्रमुख सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग संविधानसभा पुनस्थापना नगर्ने भए माओवादीले सरकार नछोड‍ने बताएका छन्।

माओवादी नेतृत्वको वर्तमान सरकारलाई नै सहमतीय सरकारमा विस्तारित गर्नुपर्ने प्रचण्डले दोहोर्‍याएका छन्।

प्रधानमन्त्री बाबुराम भट्टराई सहित बिहीबार कोइराला निवास पुगेका प्रचण्डले कोइरालासँग कुराकानी सकेर बाहिरिँदा संवाददाताहरुलाई भने, "नमिलेका कुरामा सहमति गरेर संविधान घोषणा गरेर नयाँ निर्वाचनमा जानु सबभन्दा राम्रो हुन्छ, त्यसो हुँदा नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिने भनेर हामीले भन्दै आएका छौं।"

संविधानसभाको अवसान हुँदा गत जेठ १४ गते माओवादीले एकलौटी निर्णय गरेको भन्दै बाबुराम भट्टराई नेतृत्वको सरकारबाट बाहिरिएका विपक्षी दलहरु कांग्रेस र एमालेले भने वर्तमान नेतृत्व अस्वीकार्य भन्दै आएका छन्।

बोलावट

"नमिलेका कुरामा सहमति गरेर संविधान घोषणा गरेर नयाँ निर्वाचनमा जानु सबभन्दा राम्रो हुन्छ, त्यसो हुँदा नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिने भनेर हामीले भन्दै आएका छौं"

पुष्पकमल दाहाल 'प्रचण्ड', अध्यक्ष, एकीकृत माओवादी

दलहरुको आपसी सहमति खोज्ने वाचा कहाँ पुग्यो भन्ने सोध्न राष्ट्रपतिले शीतल निवास निम्त्याएको अघिल्लो दिन दुइ मुख्य दलहरुबीच भएको भेटवार्ताले सहमतिको संकेत देखाएको छैन।

चुनाव कि संविधानसभा भन्नेमा माओवादीले पटक पटक अडान फेर्दै आएको छ।

अरु दलहरु पनि चुनाव र संविधानसभाको पक्ष र विपक्षमा विभाजित देखिन्छन्।

संविधानसभाको अवसान हुने दिन गत जेठ १४ गते मध्यरातमा संविधानसभाको नयाँ चुनावको घोषणा गरिएको थियो।

त्यस रात प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रचण्डले आफै बाहिर बसेर भित्र मन्त्रिपरिषदको बैठकबाट संविधानसभाको नयाँ चुनाव गर्ने निर्णय गराएको विपक्षी नेताहरुले बताउँदै आएका छन्।

उक्त चुनाव घोषणा गरेको केही समय बित्दा नबित्दै प्रचण्ड संविधानसभा पुनर्स्थापनाको पक्षमा लागेका थिए।

अनुपस्थित

चुनावको पक्षमा बाहिरी माहौल बन्दै जाँदा राष्ट्रपतिले समेत नयाँ चुनावमा जोड गरेपछि केही समय अघि चार दलले चुनावमा जान आपसी सहमति र सार्वजनिक घोषणा गरेका थिए।

त्यो घोषणाको भोलिपल्टै चुनावी प्रक्रिया निश्चित गर्न बोलाइएको बैठकमा प्रचण्ड र कोइराला अनुपस्थित रहे।

लगत्तै प्रचण्ड जोडतोडले संविधानसभा पुनर्स्थापनामा लागेका छन्।

संविधानसभा पुनर्स्थापनाको विपक्षमा रहेका कोइरालासँग प्रचण्डले चुनाव गर्ने नै हो भने सँगसँगै राष्ट्रपतिको समेत चुनाव गर्नुपर्ने प्रस्ताव गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले बताए।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।