राष्ट्रपतिसंगको छलफल औपचारिकतामा सीमित

पछिल्लोपल्ट अपडेट गरिएको: 19.10.12, 20:21 NST सम्मका समाचार
Nepal president

राष्ट्रपति रामवरण यादव र राजनीतिक दलका नेताहरुको सामूहिक भेट औपचारिकतामा मात्र सीमित रह्यो।

संविधानसभाको अवसान भएपछि लम्बिंदो राजनीतिक संकट तोड्न निकै महत्वपूर्ण र सहयोगी हुने कतिपयको अपेक्षा विपरित राष्ट्रपति रामवरण यादव र राजनीतिक दलका नेताहरुको शुक्रबारको सामूहिक बैठक औपचारिकतामा मात्र सीमित भयो।

यसअघि दलहरुसंग कडारुपमा प्रस्तुत भएका राष्ट्रपति यादब निकै नरम ढंगले प्रस्तुत भएको केही सहभागीहरुले बताए।

संविधानसभा विघटनयता मुख्य दलका नेताहरुसंगको राष्ट्रपतिको यो पाचौं सामूहिक भेट थियो।

तर त्यो दिवाभोजमै सीमित देखियो।

राष्ट्रपतिले लिखित सम्बोधनमा बहुआयामिक संकट तिर मुलुक अग्रसर भएको औल्याए पनि नेताहरुले उनीसंगको भेटमा सहमति खोज्ने कुनै निश्चित समय सीमा तोक्न सकेनन्।

बरु नेताहरुले तिहार पछि सहमति जुटाउने हल्का टिप्पणि गरेका थिए।

बैठक पछि माओवादी अध्यक्ष प्रचण्डले भने, “त्यस्तो गम्भीर छलफल भएन, दशैको अवसरमा दिवा भोजको पनि आयोजना गरिएको रहेको छ।”

त्यस्तै टिप्पणि थियो नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको पनि।

"हामीले केही बोलेनौं, कुरा सुन्यौं, मनमा गुन्यौं र खाना खायौं"

झलनाथ खनाल, एमाले अध्यक्ष

खनालले भने, “हामीले केही बोलेनौं, कुरा सुन्यौं, मनमा गुन्यौं र खाना खायौं।”

यस अघिको भेटमा शीर्ष नेताहरुले असोजमसान्त भित्र सहमति जुटाउने प्रतिबद्धता जनाएका थिए।

राष्ट्रपतिले गत शनिबार एक सार्वजनिक कार्यक्रममा बोल्दै दलहरुले छिट्टै सहमति नगरे आलु चुप लागेर नबस्ने संकेत गरेका थिए।

त्यसपछि प्रधानमन्त्री र राष्ट्रपतिबीच जुहारीनै चलेको थियो।

तर युरोपभ्रमबाट फर्किए लगतै राष्ट्रपतिको पनि निर्वाचन गर्नु पर्ने प्रचण्डले प्रस्ताव गरे पछि राष्ट्रपति केही पछि हटेको कतिपयको बुझाइ छ।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपतिले आफनो भूमिकाबारे सुझाव मागेको बताए।

कोइरालाले भने, “राष्ट्रपतिले तपाइहरुले सक्नु हुन्न भने मैले के गर्नु पर्यो सुझाव दिनु होस् भनेर भन्नु भो।”

यस अघि राष्ट्रपतिसंग भेट पछि संधै जसो गम्भीर देखिने नेताहरु यसपटक ठट्यौली गरि रहेका थिए।

हाम्रा संवादाता भन्छन्, दशै तिहार जस्ता ठूला चाडपर्वले नेताहरुलाई राजनीतिक समस्या पन्छयाउन सघाएको जस्तो देखिन्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।