‘हेलो सरकार संयन्त्र प्रभावहीन बन्यो’

पछिल्लोपल्ट अपडेट गरिएको: 23.10.12, 19:42 NST सम्मका समाचार
केन्द्रिय सचिवालय, सिंहदरबार

हेलो सरकारमार्फत गरिने गुनासाहरुको उचित सम्बोधन नभएको उपभोक्ता हितमा लाग्ने संस्थाहरुको भनाइ छ

जनगुनासाहरुलाई तत्काल सम्बोधन गरि राहत दिने उद्देश्यले झण्डै वर्ष दिन अघि गठन गरिएको हेलो सरकार संयन्त्रका कामकारवाही प्रभावहिन देखिन थालेको अधिकारीहरुले स्वीकारेका छन्।

पहिला दैनिक साढे दुईसय सम्म उजुरी आउने हेलो सरकार कक्षमा आजभोली ३० वटा उजुरी पनि पर्दैनन्।

मन्त्रालयहरुले सहयोग नगर्दा यो संयन्त्रका कामकारवाही फितलो देखिएको सरकारी अधिकारीको भनाई छ।

उपभोक्ता हितमा काम गर्नेहरुले यो संयन्त्र नारामा मात्र सीमित भएको बताए।

प्रचारबाजी

निकै प्रचारबाजीका साथ साढे ११ महिना अघि गठन गरिएको हेलो सरकार संयन्त्रको ११११ नम्बरको फोन शुरुताका चौबिसै घण्टा व्यस्त रहन्थ्यो।

दैनिक साढे दुई सय उजुरी आउँथे।

शुरु शुरुमा केही उजुरीको तत्काल र प्रभावकारी सम्बोधन पनि भयो।

प्राय दैनिक जीविकासँग सम्बन्धित उजुरी आउने सो सयंन्त्रमा अहिले थोरै मात्र उजुरी पर्छन्।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश रेग्मीले भने, “पहिला शान्ति र संविधानबारेका धेरै उजुरी आउँथे अहिले सेवा प्रवाहका बारेमा उजुरी आउँछन् तर त्यो घटेको छ।”

"मन्त्रालयहरुले हेलो सरकारका उजुरीलाई प्राथमिकतामा नराखेका कारण फर्छयौट हुने उजुरीको संख्या कम हुन गएको हो"

जगदीश रेग्मी, प्रधानमन्त्री कार्यालयका प्रवक्ता

प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकार कक्षमा यसबीचमा १८ हजार १९ उजुरी परेका छन्।

ती मध्ये अधिकांश यत्तिकै थन्केर बसेको अभिलेखले देखाउँछ।

उपभोक्ता हितमा सक्रिय अधिवक्ता ज्योती बानियाँ भन्छन्, “त्यहाँ उजुरी दिएपछि उजुरी कर्तालाई के भयो त भनेर हेर्ने हो भने उसको गुनासो कतै पनि सुनुवाई भएको देखिंदैन।”

उजुरी

सरकारले चाहिं हेलो सरकारमा आएका जनगुनासा तर्फ सम्बन्धित मन्त्रालयहरुले चासो नदिएका कारण धेरैजसो उजुरीको सुनुवाई हुन नसकेको बताएको छ।

प्रवक्ता रेग्मीले थपे, “मन्त्रालयहरुले यो हेलो सरकारका उजुरीलाई प्राथमिकतामा नराखेका कारण फर्छयौट हुने उजुरीको संख्या कम हुन गएको हो।”

संयन्त्रमा मौसम अनुसारका उजुरी बढी पर्ने गर्छन्।

जेठ १४ अघि संविधान लेखन बारेका गुनासा बढी पर्थे।

यतिवेला दशैमा घर जान सवारी नपाएको, म‍ूल्य बढाएको वा बजार अनुगमन नगरेको जस्ता गुनासा बढी परेका छन्।

तर संयन्त्रबाट नागरिकका ती मुद्दाहरुको सम्बोधन हुन नसकेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव रहेका बानियाँको अनुभव छ।

उनले भने, “मर्कामाथि सुनुवाई गर्ने दक्ष जनशक्ति पनि राखिएको छैन, खाली सुन्ने, ए यस्तो रहेछ भन्ने देखिएको छ। तर नागरिकका अपेक्षाहरु पूरा हुन सकेका छैनन्।”

हेलो सरकारका काम कारवाही फितलो हुँदै गइरहेको वेला सरकारले हालै हेलो स्वास्थ्य नामक नयाँ संयन्त्र खडा गरेको छ।

तर धेरैको बुझाईमा उक्त संयन्त्रलाई कार्वायन्वयन मुखी नबनाउने हो भने हेलो स्वास्थ्य पनि केही समयपछि हेलो सरकारकै स्तरमा झर्न सक्छ।

BBC © 2014 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।